नाकाबन्दीमा एक शब्द बोल्न नसक्नेले अहिले म्याउँ गर्न सुहाउँदैनः सञ्चारमन्त्री बास्कोटा

पोखरा ।

सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले देउवाले राष्ट्रियताको विषयलाई सस्तो टिप्पणी गरेर जनता विभाजन गर्न खोजेको आरोप लगाएका छन् । नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा आइतबार बिहान पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले कालापानीका विषयमा देउवाले सस्तो टिप्पणी गरेर जनता विभाजन गर्न खोजेको आरोप लगाए ।

उनले भने, ‘यो राष्ट्रभक्तिको मुद्दा हो, यसमा कुनै दल हुँदैन, ‘यसमा पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले कालापानीबारे सस्तो टिप्पणी गर्नु दुःखद कुरा हो, यसप्रति म खेद व्यक्त गर्दछु ।’ मन्त्री बास्कोटाले थपे, ‘चुनाव आउँछ, जान्छ, तर उहाँले धैर्य गुमाउन हुँदैनथ्यो, राष्ट्रियताको विषय हो, मैले विश्वास गर्न नपरोस्, यदि देउवाजीले यस्तो भनेकै हो भने सबैभन्दा ठूलो क्षति देउवाले व्यहोर्नुपर्छ, यो कांग्रेसका लागि धब्बा हुनसक्छ ।’ मन्त्री बास्कोटाले नाकाबन्दीमा म्याउ गर्न नसक्ने देउवा अहिले आएर ढाडे बनेर कुर्लिन खोजेको टिप्पणी गरे ।

उनले भने, देशभक्तिको प्रश्नमा हाम्रो भाषा लरबरिँदैन, नाकाबन्दीमा एक शब्द बोल्न नसक्ने, म्याउँ गर्न नसक्नेले अहिलेचाहिँ चुनाव आयो भनेर ढाडे बनेर कुर्लिएर हुन्छ ? चुनाव हार वा जितसँग यस्ता विषय ल्याएर जोड्नु हुँदैन ।’ मन्त्री बास्कोटाले सर्वदलीय बैठकमा ऐतिहासिक सहमति जुटेको दृष्टान्त दिँदै त्यतिबेला असन्तुष्टि नजनाएका देउवाले चुनावी मसलाका रूपमा पोखरामा भाषण गर्नु उदेकलाग्दो भएको बताए । उनले भने, ‘सर्वदलीय बैठकमा कसैको पनि असहमति थिएन, दुईवटा बाटा मात्र औंल्याइएको थियो, त्यो भनेको एउटा कूटनीतिक र अर्को राजनीतिक बाटोबाट समाधान खोज्नपर्ने भन्ने छ ।’

उनले एकपटक जनताको मत र फैसलाहरूमाथि अरू कसैले प्रश्न उठाउँदा त्यो नेपाली जनताको मत हो, फैसला हो भनेर बोल्न नसक्ने शेरबहादुर देउवाजीले केपी ओलीको राष्ट्रवादी अडान, क्षमता र संघर्षको कुरामाथि प्रश्न उठाउनु आफैंमा लज्जाजनक विषय भएको बताए । उनले भने, ‘आरोप लगाउँदा त्यति मात्र लगाउनुपर्छ, जुन सत्यमा आधारित हुन्छ, जनता सबैलाई थाहा छ, भारतले अहिले जारी गरेको राजनीतिक नक्साप्रति इतिहासमै पहिलोपटक नेपालको बहालबाला प्रधानमन्त्रीले म यो मान्दिनँ, नेपालका लागि यो स्वीकार्य छैन भनेर बोल्यो ।’

यसरी यसअघि कुनै पनि बहालवाला प्रधानमन्त्रीले बोल्ने आँट नगरेको उनले दाबी गरे । मन्त्री बास्कोटाले सरकारलाई मुन्टो लुकाएर राष्ट्रियताको पक्षमा हिँड्नुपर्ने कुनै आवश्यक नभएको बताए । उनले भने, ‘सरकार त्यति कमजोर छैन, आफ्नो जमिन फिर्ता गराएरै छाड्छौं, तर लडेर, झगडा गरेर होइन, वार्ता र संवादबाटै । हामीलाई अरू कसैको एक इन्च जमिन पनि चाहिएन, तर हाम्रा पुर्खाले रगत बगाएर विरताका साथ जे जति हिजोको जमिन जोगाएर राखेका छन्, त्यो जमिनमाथि अरु कसैको हस्तक्षेप वा त्यसप्रतिको अतिक्रमण हाम्रालागि स्वीकार्य छैन ।’

देउवाले झूटा आरोप लगाइरहँदा गण्डकी, कोसीमा सम्झौता गर्दाखेरि ती सबैको एकमुष्ट जवाफ देउवा र उनको पार्टी कांग्रेसले दिनुपर्ने मन्त्री बास्कोटाले बताए । यसअघि नेपाल र भारत सीमा सम्बन्धका विषयमा वा विवादास्पद सन्धि सम्झौताका बेलामा देउवाले आत्मसर्पण गरेकोसमेत उनले आरोप लगाए । ‘टनकपुर सन्धि हामीले बिर्सिएका छैनौं, जसलाई सर्वोच्च अदालतले सच्याउनुप¥यो, त्यो सन्धिप्रति शेरबहादुर देउवाको दृष्टिकोण के ? जसलाई सम्मानित अदालतले पनि गलत हो भनेको छ र त्यो सन्धि कसको पालामा भएको थियो ?’

मन्त्री बास्कोटाले नालापानी नभई कालापानी मागेकाले भारतले सहजै दिनुपर्ने बताए । जनगणनादेखि मालपोत र पानीपोतसम्म सबै नेपालमा भइरहेकाले कालापानी, लिम्पीयाधुरा र लिपुलेक नेपालको भएको पुष्टी हुने जिकिर गरे । मन्त्री बास्कोटाले प्रतिपक्षी कांग्रेसले सरकारलाई काम गर्न नदिन गाँठो कसेको कस्यै गरिरहेको आरोप लगाए । संवैधानिक परिषद्मा कुनै एकजनाले असहमति जनाउनेबित्तिकै निर्णय गर्न नपाउने नियमका कारण अप्ठेरो परेकाले विधेयक ल्याउन लागेको उनले बताए ।

उनले भने, सधैं सहमति जुट्छ भन्ने हुँदैन, अनि सहमति नजुटेको अवस्थामा सधंै बन्धक बनाइरहन हुँदैन भनेर बहुमतले निर्णय गर्नसक्ने गरी विधेयक ल्याउन लागेका हौं ।’ उनले आमसञ्चार ऐन पनि बनिरहेको जानकारी गराए । सोसल साइट र मूलधारको पत्रकारिता छुट्याउने गरी विधेयक ल्याउन लागेपनि बताए ।