मेगा बचत तथा ऋण सहकारी संस्थाको नवौं साधारणसभा सम्पन्न

पोखरा ।

मेगा बचत तथा ऋण सहकारी संस्थाको नवौं साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले ‘सहकारी क्षेत्रले उत्पादन मुलक क्षेत्रमा जानै पर्ने प्रावधान रहेकाले निक्षेपलाई उत्पादनमा रुपान्तरण गर्न आग्रह गर्दै सहकारीको मर्जर आवश्यक रहेकाले दुईभन्दा बढी संस्था अटाउन सक्ने नियम बनाएको बताए ।’

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक भीमबहादुर गुरुङले ‘सहकारी ठूूलो र उत्कृष्ट हुनुभन्दा पनि असल र अब्बल हुन आवश्यक छ, वित्तीय स्वस्थ्य परीक्षणपछि नै गुणस्तरीय चिह्न प्रदान गरिने भएकाले स्तरीकरणको चरणमा पुग्न आग्रह गरे ।’ गुरुङले कास्कीका ६ सय संस्थामा ३ सय सहकारी मध्ये ४० वटा संस्था यसमा आवद्ध भएको जानकारी गराए ।

संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति धु्रवराज चालिसेले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग सहकार्य गरी संस्थाको भवन निर्माण, उद्यमशीलता र उत्पादनमुखी क्षेत्रमा लगानी गर्नका लागि थप बजेट ल्याउने तयारी भएको प्रतिवद्धता व्यक्त गरे ।

सञ्चालक समितिको तर्फबाट चालिसेले ०७५÷०७६ को आम्दानी र खर्च विवरण, नीति तथा कार्यविधि निर्माण, विनियम संशोधन, भावी योजनासहितको प्रगति विवरण प्रस्तुत गरेका थिए भने लेखा समितिका संयोजक नेत्रनारायण पौडेलद्वारा प्रस्तुत गरिएको लेखा समितिको प्रतिवेदन र कोषाध्यक्ष सबि श्रेष्ठले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन साधारणसभाले अनुमोदन सहित पारित गरेको छ ।

प्रस्तुत गरिएका प्रतिवेदनमाथि शेयर सदस्यहरु देवीप्रसाद अर्याल, तारा गौतम र उत्तम बरालले टिप्पणी गर्दै जिज्ञासाहरु राखेका थिए । साधारणसभामा उठेका प्रशनको संस्थाका सचिव केशव काफ्लेले जवाफ र जानकारी दिएका थिए ।

साधारणसभामा संस्थापक अध्यक्ष तथा सल्लाहकार टंकप्रसाद अधिकारले “सहकारीको नीति नियम र मान्यता अनुसार संस्था चलेको हुँदा निर्धारण गरिए अनुसारको लाभांश वितरण गर्नु र कर बुझाउनुले पारदर्शिता साथै सुशासन भएको प्रमाणित गरेको” धारण राखेका थिए ।

संस्थाले एसइइ सम्मान अन्तर्गत काजीबाबु श्रेष्ठका सुपुत्र सिमोनबाबु श्रेष्ठ र रामजी भट्टराई तथा सविता पराजुली भट्टराईकी सुपुत्री कृति भट्टराई साथै उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी चाँदनी थापा मगर र रोशनी वि.क.लाई नगद, मायाको चिनो र सम्मानपत्रसहित सम्मान गरेको थियो ।

साधारण सभाले निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधिका रुपमा कमलमणि अधिकारी र शान्तकुमारी पौडेललाई चयन गरेको छ । अध्यक्ष धु्रवराज चालिसेको सभापतित्वमा सञ्चालित कार्यक्रममा सञ्चालक समितिका सदस्य रामेश्वर अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने कोषाध्यक्ष सवि श्रेष्ठले सहकारीका सात सिद्धान्त वाचन गरेकी थिइन ।