व्यवसायी पहिलो कर अधिकृत

पोखरा ।

आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख केशव उप्रेतीले पहिलो कर अधिकृत व्यवसायी नै भएको बताएका छन । उनले सवै करदाताहरु पहिलो कर अधिकृत भएको धारणा राखे ।

आठौं कर सप्ताहको सन्दर्भमा पोखरा चेम्बर अफ कमर्श कास्की र आन्तरिक राजश्व कार्यालय पोखराले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले नेपालमा स्वयमले कर निर्धारण प्रणाली भएकोले करदाताहरु पहिलो कर अधिकृत भएको दावी गरे । आन्तरिक राजश्व कार्यालय करदातामैत्री भएको दावी गर्दै उनले नेपालको करप्रणाली प्रगतिशिल रहेको उल्लेख गरे ।

करदाताले बिचौलिया मार्फत फारम भराउदा अनावश्यक व्ययभार व्यहोर्न परेको चर्चा गर्दै उनले आन्तरिक राजश्व कार्यालयमा व्यवसाय दर्ता गर्दै पैसा नलाग्ने बताए । उनले चोरी निकासी कम गर्न व्यवसायको अनिवार्य दर्ताको व्यवस्था गरेको धारणा राखे । तिनतहको सरकारले आआफ्नो ढंगले कर तथा राजश्व उठाउने भएकोले एकद्धार प्रणाली अपनाउन नसकेको बताए ।

पोखरा चेम्बर अफ कमर्स पोखराका अध्यक्ष किशान सुनारले उद्योगी व्यापारीहरुको लागि नियमित प्रशिक्षण चलाउने बताए । घरवहालमा व्यवसाय गर्नेका समस्यालाई हल गर्न पहल गर्ने चर्चा गर्दै उनले हेल्प डेस्क मार्फत व्यवसायीका गुनासा सुन्ने सयन्त्रको विकास गरेको जानकारी दिए ।

उनले आन्तरिक राजश्व कार्यालय, नेपाल प्रहरी र पोखरा महानगरपालिकाको समन्वयमा पोके व्यपारीका कारण उत्पन्न समस्यालाई हल गर्ने धारणा राखे । कार्यक्रममा कमर्शका महासचिव उमराज बास्तोला, कार्यक्रम संयोजक नवराज आचार्य लगायतले व्यवसायीलाई परेको करको बारेमा वोलेका थिए ।