पोखरा–३३ का मतदाताको आशा ‘खेमराज’

पोखरा ।

कास्की क्षेत्र नं. २ का उम्मेदवार खेमराज पौडेल पोखरा–३३ मा घरदैलो सकेर पोखरा फर्किएका छन् । उनले आइतबार र सोमबार गरी २ दिन लगाएर त्यहाँका मतदातासंग भेटघाट र भलाकुसारी गरे । उम्मेदवार पौडेल मंगलबार पोखरा–९ र १७ को कोणसभामा सहभागी हुँदैछन् ।

पौडेल उम्मेदवार बनेर पोखरा–३३ पुग्दा त्यस स्थानका मतदाता निकै उत्साहित भए । पोखरा–३३ उनको छिमेकी वडा पनि भएकाले त्यहाँका जनताले पौडेलप्रति धेरै आशा गरेका छन् । पोखरा–३३ का चुनावी कमाण्डर एवं पार्टीका केन्द्रीय सदस्य जीवन परियारका अनुसार पौडेल निष्ठावान र इमान्दार नेता भएकाले पनि धेरैको आशाको केन्द्रमा रहे ।

घरदैलोका क्रममा जनताले पौडेलसमक्ष खानेपानी, विद्यालय भवन, सडक, पुल लगायतका समस्या प्रस्तुत गरे । जवाफमा उम्मेदवार पौडेलले यी समस्या मेरा पनि भएकाले समस्या समाधानमा लाग्ने प्रतिवद्धता जनाए । यता, पोखरा–४ मा सोमबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कास्की–२ का चुनावी कमाण्डर डा. मिनेन्द्र रिजाल पनि सहभागी भए । डा. रिजालको उपस्थितिमा पोखरा–४ का विभिन्न स्थानमा घरदैलो र मतदाता भेटघाट कार्यक्रम भएको चुनाव प्रचार समितिका सहसंयोजक लक्ष्मी पाण्डेले जानकारी दिइन् ।

यसैगरी पोखरा–७ का विभिन्न स्थानमा पनि घरदैलो जारी छ । कास्की कांग्रेसका नेता एवं चुनाव कमाण्डर शुक्रराज शर्मा सहित घरदैलो अभियान भएको वडा इकाइ सभापति नवीन बरालले जानकारी दिए । यस्तै, पोखरा–८ मा पूर्व महामन्त्री तारानाथ रानाभाट, पोखरा–९ मा नेता विरेन्द्रनरायण विजुक्छे, पोखरा–१७ मा पार्टी सभापति कृष्ण केसी, १५ मा सांसद विन्दा राना लगायतको उपस्थितिमा घरदैलो अभियान जारी रहेको बताइन्छ ।

कांग्रेसले कास्की–२ भित्रका ११ वटै वडामा चनावी कमाण्डर खटाएर अभियान शुरु गरेको हो । वडामा खटिएका कमाण्डरहरूले पार्टीका सबै भातृ तथा शुभेच्छुक संगठनलाई चुनावमा परिचालन गरेका छन् ।

जनताको आशालाई निराशामा परिणत ः गरुङ
नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले कम्युनिष्ट पार्टीको २ तिहाई बहुमतको सरकारप्रति आक्रोश ब्यक्त गरेका छन् । कास्की क्षेत्र नं. २ अन्तर्गत पोखरा–३३ मा आयोजित कोणसभामा उनले सरकारले जनताको आशालाई निराशामा परिणत गराएको आरोप लगाए ।
उनले कर बृद्धि, हत्या, बलात्कार जस्ता घटना दिनहुँ बढिरहँदा पनि सरकार चुप लागेर बसेको बताए । सरकारकै संरक्षणमा त्यस्ता गतिविधिहरु हुन सक्नेतर्फ उनले ध्यानाकर्षण गराए । ‘जनताले सुख पाउने आशा २ तिहाईको सरकारले निराशामा परिणत गरिदिएको छ’, उनले भने ।

उनले नेपाली राजनीतिको निकै सम्मानित व्यक्तित्व खेमराज पौडेललाई मत दिन आग्रह गरे । पोखरा–३३ मा घरदैलो अभियान सकाएर उम्मेदवार पौडेल पोखरा फर्किँदै छन् । पोखरा–३३ मै अन्य स्थानमा भएको कोणसभामा नेपाली कांग्रेसका नेता देवराज चालिसेले देश र जनताका लागि समर्पित मान्छे कहिल्यै बुढो नहुने बताए । नेपाली उनले खेमराज पौडेल उमेरले मात्र बुढो भए पनि उहाँका विचार असाध्यै तन्नेरी भएको बताए ।

नेता चालिसेले भने, ‘नेपाली कांग्रेसले ६० बर्षदेखि निरन्तर नेपाली जनताको सेवामा समर्पित मान्छेलाई उम्मेदवारको रुपमा पठाएको छ । उहाँलाई जिताउने जिम्मा तपाईहरुको हो ।’ उनले थपे, ‘देश र जनताका लागि निरन्तर निष्ठाको राजनीति गर्ने व्यक्तिको आदर्श कहिल्यै बुढो हुँदैन ।’
पञ्चायत र सशस्त्र युद्धकाक्रममा महत्वपूर्ण भूमिका खेलेका खेमराज गुरुलाई उम्मेदवारको रुपमा पाउनु पोखरेली जनताका लागि गौरबको कुरा भएको नेता चालिसेले बताए । पौडेलको उम्मेदवारीमा प्रश्न गर्ने ठाउँ नरहेकोले अब सबै एकजुट भएर चुनाव जिताउनुपर्नेमा नेता चालिसेले जोड दिए ।

उक्त अवसरमा उम्मेदवार पौडेलले सरकार लोकतन्त्र मास्न, देशको ढिकुटी रित्याउनमा उद्धत रहेकाले त्यसको खबरदारी गर्न आफू चुनावमा होमिएको बताए । उनले देश र लोकतन्त्रको रक्षाका लागि भए पनि नेपाली कांग्रेसलाई मत दन आग्रह गरे । पोखरा–३३ का चुनावी कमाण्डर एवं पार्टीका केन्द्रीय सदस्य जीवन परियारले पोखरा–३३ मा कांग्रेसको माहोल निकै राम्रो रहेको भन्दै यस पटक ७० प्रतिशत मत कांग्रेसको पक्षमा आउने दावी गरे ।

उम्मेदवार खेमराजलाई आचार्यको आशिर्वाद
नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले सोमबार पनि घरदैलो अभियानमार्फत मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन् । उनले कास्की क्षेत्र नं. २ अन्तर्गत पोखरा–३३ का मतदाता भेटघाट कार्यक्रम आइतबारदेखि नै शुरु भएको हो । आइतबार पुँडीटार क्षेत्रमा घरदैलो र कोणसभा गरेका उम्मेदवार खेमराजले सोमबार बिहानै महाकालीचोकबाट अभियान प्रारम्भ गरेका हुन् ।

स्थानीय ९८ वर्षीया त्रिलोचना आचार्यबाट टीका र आशिर्वाद लिएर उम्मेदवार पौडेलले अभियान शुरु गरेका हुन् । उक्त अवसरमा वृद्धा आचार्यले चुनावमा विजयीको शुभकामना दिइन् । आचार्यले ‘चुनाव जित्नू, जनताको सेवा गर्नु, कसैको मन नदुखाउनू’ भन्दै उम्मेदवार पौडेललाई आशिर्वाद दिएकी थिइन् ।

वृद्धा आचार्यले ‘नेता हुनु त खेमराज गुरु’ जस्तै हुनु भनेर अरुलाई प्रेरणा दिइन् । उक्त अवसरमा कांग्रेसका केन्द्रीय सदस्य जीवन परियार लगायत कास्की कांग्रेसका नेताहरू सहभागी थिए । वृद्धा आचार्यले खेमराजले अहिलेसम्म कसैको आश नगरेको, लामो समय राजनीति गरेर जनताको सेवा गरेको भन्दै यो चुनाव उनैले जित्नुपर्ने बताइन् । बिरामी भएर ओछ्यानमै सुतिरहेकी उनले थपिन्, ‘खेमराज कसैको दुःख देख्न सक्ने व्यक्ति होइनन् । यस्ता मान्छेले अरुबाट के आश गर्ने ?’

उक्त अवसरमा पार्टीका केन्द्रीय सदस्य जीवन परियारले त्यागी र निष्ठावान नेतालाई उम्मेदवारको रुपमा पाउँदा पार्टी पंक्तिमात्र होइन सबै खुशी भएको बताए । ‘म १५ दिनदेखि यतै खटिरहेको छु । यहाँ खेमराज गुरुको बाहेक अरुको नाम लिइएको छैन’, पोखरा–३३ का चुनावी कमाण्डरसमेत रहेका नेता परियारले भने ।

सरकार अलोकतान्त्रिक गतिविधि गर्न मात्र उद्धत रहेकाले जनता निकै निराश भएको उनले बताए । नेता परियारले कांग्रेसले यो चुनाव जितेर यो सरकारको पक्षमा जनता छैनन् भन्ने पुष्टि गर्नुपर्ने बताए ।