निर्वाचन जितेपछि विद्या मन्त्री ः खगराज

पोखरा ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश कमिटीका सहइन्चार्ज खगराज अधिकारीले प्रतिनिधिसभा उपनिर्वाचन जितेर मन्त्री बन्ने उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभएको छ ।

पार्टीको निर्वाचन परिचालन कमिटी वडा नं ११ ले आज आयोजना गरेको चुनावी प्रचार तथा घरदैलो अन्तर्गत आयोजित कोणसभामा उहाँले नेकपा उम्मेदवार विद्या भट्टराई निर्वाचन जितेर मन्त्री बन्ने भएकाले विकासका लागि उहाँलाई मत दिन आग्रह गर्नुभयो । सरकारको मन्त्री बन्ने ठाउँमा भोट हाल्न मतदाता समक्ष अनुरोध गर्दै अधिकारीले भने,‘तीन वर्ष अन्य पार्टीले कसैलाई पनि मन्त्री बनाउन सक्दैनन्, नेकपाले मात्र सक्छ । त्यसैले त्यस्तो उम्मेदवारलाई जिताएर आफ्नो ठाउँको विकास गरौँ।’

नेकपा नेतृत्वको वर्तमान सरकारले केही गरेन भन्दा पनि विगतमा केही भएको थिएन भन्दै उनले छिमेकी मुलुक चीनबाट समुन्द्रसम्म ७ वटा नाका खोल्ने र भुपरिवेष्टित मुलुकबाट भुजडित मुलुकमा लैजाने काम सरकारले गरेको उल्लेख गरे । पूर्वमन्त्री समेत रहेका नेता अधिकारीले वर्तमान सरकारले भूमिहीन, दलित तथा सुकुम्वासीलाई लालपूर्जा दिने कानून बनाएका लागि नेकपाको विजयको विकल्प नभएको उल्लेख गरे ।

प्रतिनिधिसभा सदस्य उम्मेदवार विद्या भट्टराईले स्व. रवीन्द्र अधिकारीका बाकी रहेका अभिभारा र प्रतिवद्धतालाई आफूले हुबहु पूरा गर्ने प्रतिवद्धता व्यक्त गरिन् । जनताले अघिल्लो निर्वाचनमा पाँच वर्षका लागि अभिमत दिएपनि पुनः चुनावमा आउनुपरेको भन्दै उनले आम पोखरेली जनताको सपना पूरा गर्ने जिम्मेवारी आफ्नो काँधमा रहेको स्पष्ट पारिन् ।

गोर्खा मेजर चन्द्रबहादुर पुनले वर्तमान सरकार आएपछि मात्र देशले विकासको लय समातेको बताउँदै बृद्धबृद्धा, असहाय र अशक्तलाई हेर्ने पार्टीलाई जिताउन आग्रह गरे । घरदैलो अन्तर्गत नेकपाका नेता कार्यकर्ताहरुले वडाका फूलबारी, मणीपाल, धरहरामार्ग अन्तर्गतका टोलहरुमा चुनावी प्रचारप्रसार गरिरहेका छन् ।

विद्यालाई जिताउन टोलटोलमा प्रचार समिति
पोखरा ४मा नेकपाका उम्मेद्वार विद्या भट्टराईलाई जिताउन बुद्धीजिविहरुको भेला सम्पन्न भएको छ । भेलाले बुद्धिजिविको तर्फबाट चुनाव प्रचारप्रचार प्रसार गर्न दूर्गादत्त भण्डारीको संयोजकत्वमा १६ सदस्यीय समिति गठन गरेको छ । समितिको सहसंयोजकमा रामचन्द्र पहारी र नारायण अधिकारी, सदस्यहरुमा गिता पौडेल, नवराज बास्तोला, रञ्जन शर्मा पराजुली, निदेश कोइराला, टपोबहादुर थापा, रामजी न्यौपाने, माधवप्रसाद सुवेदी, डा. खेमराज भट्ट नवराज पौडेल, मानबहादुर केसी दिलकूमारी पाौडेल, शान्ती थापा, महेन्द्र आले सत्यराज सुवेदी र शिवकुमारी आधिकारी रहेका छन् । डा. कृष्णराज अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति गठन भएको छ । पोखरा ४का टोलटोलमा प्रचार समिति गठन भएका नेकपा कास्कीका नेता एवं वडा नम्बर ४का इन्चार्ज दामोदर बैरागीले जानकारी दिए ।

यसैबीच, बुद्धिजिवी संघसंस्था पेशागत समन्वय उप समिति भलामको भेलाले रवीन्द्रका अधुरा योजना र सपना पूरा गर्नका लागि विद्यालाई जिताउनुको विकल्प नभएको निश्कर्ष निकालेको छ । विद्याले पेशागत संगठनमा खेलेको भूमिका, पार्टी संगठनमा रहेर खेलेको भूमिकालाई मूल्यांकन गरेरै उम्मेद्वार बनाएकाले सबै मिलेर जिताउनुपर्ने समितिको निश्कर्ष छ ।

समितिले भलाम सँधै लालकिल्ला भएकाले यसपटकपनि मतान्तर बढाउँदै लालकिल्ला कायम गर्नपनि भलामबासीमा अपिल गरेको भुगोलविदसमेत रहेका प्रा.डा.कृष्ण केसीले जानकारी दिए । भेलामा नेकपाका नेताहरु दामोदर बैरागी, विश्वप्रकाश लामिछानेलगायतपनि सहभागि रहेको नेकपा कास्की २ प्रचारप्रसार समितिका सदस्य रामप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

यसैबीच पोखराको वडा नं ८ का अन्तर्गतका सभागृहचोक, न्यूरोड, दमकलमार्ग, नगरपालिका र जाल्पारोडमा नेकपा कार्यकर्ताहरुले आज विद्या लाई जिताउन आग्रह गदैै घरदैलो गरिरहेका छन् । समृद्धिका लागि नेकपाको विकल्प नभएकाले नेकपालाई जिताउन आग्रह गरिएको छ । त्यसैगरि तनहुँबाट पोखरा आइबसोबास गरेकाहरुको पोखरामा भएको बृहत भेलाले भीम गुरुङको संयोजकत्वमा १३ सदस्सीयउपनिर्वाचन सहयोग समिति गठन गरेको छ ।