‘देश्ना स्मृति दोस्रो भेट्रान्स कप’ को उपाधिका लागि एलजी र नयाँगल्ली भिड्ने

पोखरा ।

ईन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजनामा टुँडिखेलमा जारी ‘देश्ना चन्द स्मृति दोस्रो भेट्रान्स (३५ वर्ष माथि) सेभेन ए साईड नयाँगल्ली कप’ को उपाधिका लागि एलजी एशोसियसन र नयाँगल्ली भेट्रान्स भिड्ने भएको छ ।

पुरानो टुडिखेलमा शुक्रबार सम्पन्न पहिलो सेमिफाईनल खेलमा एलजी एशोसियसनले दीप युनाईटेडलाई ० का विरुद्ध २ गोलले पराजित गर्याे । एलजीको जीतका लागि प्रबिन्द्र गुरुङ र टेक गुरुङले समान १÷१ गोल गरे । उक्त खेलबाट एलजीका टेक गुरुङ म्यान अफ दि म्याचको पुरस्कारको हकदार बने । खेल अवधीभर दीपले गोल फर्काउन नसक्दा अन्तिम चारबाट बाहिरियो ।

त्यस्तै अन्तिम सेमिफाईनल खेलमा सँगम एफसीलाई नयाँगल्ली भेट्रान्सले ५–० फराकिलो गोल अन्तरले पराजित गर्दै फाईनलमा एलजीसँगको भेट पक्का गर्याे । नयाँगल्लीको जीतमा दिलिप गुरुङ २ नरेश केसी, झक बहादुर क्षेत्री र कृष्ण गुरुङले समान १÷१ गोल गरे ।

उक्त खेलबाट नयाँगल्लीका दिलिप गुरुङ म्यान अफ दि म्याच घोषित भएको खेल संयोजक अन्जन देवकोटाले जानकारी दिए । देवकोटाका अनुसार उपाधिका लागि एलजी र नयाँगल्ली शनिबार दिउँसो ठीक २ बजे भिड्ने छ । उक्त खेल गोल नेपालबाट प्रत्यक्ष प्रशारण गरिने समेत आयोजकले जनाएको छ ।