कांग्रेसको दोस्रो चरणको चुनावी अभियान शुरु, मतदाता भेटघाट तीव्र

पोखरा ।

कास्की कांग्रेसको चुनाव प्रचार अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रम शुरु भएको छ । दोस्रो चरण कार्यक्रमको पहिलो दिन बिहीबार पनि मतदाता भेटघाट कार्यक्रम नै जारी रहेको कास्की कांग्रेसले जनाएको छ ।

पोखरा–२० भलाममा बिहीबार उम्मेदवारसहितको घरदैलो अभियान भएको छ । पोखराका अन्य वडामा पनि नेता कार्यकर्ताले घरदैलो गरी मतदाता भेटघाट कार्यक्रमलाई जारी राखेको कास्की कांग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए । पोखरा–७ मा घरदैलो अभियान जारी रहेको र मतदाता भेटघाट अन्तिम चरणमा पुगेको कांग्रेस नेता एवं चुनाव प्रचार समितिका संयोजक शुक्रराज शर्माले जानकारी दिए । केही टोल बाहेक अधिकांशमा मतदाता भेटघाट सकिएको उनले बताए ।

वडा भित्र पनि कलष्टर छुट्याएर अभियान सञ्चालन गरिएको संयोजक शर्माले बताए । उनले भने, ‘टोलै पिच्छे छुट्टाछुट्टै समिति गठन गरेर अभियान अघि बढाएका छौं । साथै पार्टीका सबै संयन्त्रलाई पनि परिचालन गरेका छौं ।’ नेविसंघका नेता कार्यकर्ताले विद्यार्थी, महिला संघका नेता कार्यकर्ताले महिला, तरुण दलका नेता कार्यकर्ताले युवा, जनजाति संघका नेता कार्यकर्ताले जनजातिहरूसंग भेटघाट गरेको नेता शर्माले बताए । उनले भने, ‘कांग्रेस पार्टीप्रति विश्वास र उम्मेदवार खेमराज पौडेलको लोकप्रियताले मतदाता निकै उत्साहित छन् । कांग्रेसको पक्षमा मत दिन आतुर छन् ।’

यता, पोखरा १६ मा पनि घरदैलो अभियान जारी छ । जसअन्तर्गत पहिलो चरणमा मतदाता भेटघाट कार्यक्रम भएको छ । चुनाव प्रचार समितिका संयोजक कुमार खड्काका अनुसार यस क्षेत्रमा आगामी मंसिर ५ गते उम्मेदवारसहितको घरदैलो अभियान हुनेछ । त्यसको तयारी पनि भइरहेको र पार्टीका सबै संयन्त्र परिचालन गरि चुनाव प्रचार भइरहेको गण्डकी प्रदेशसभा सदस्य समेत रहेका नेता खड्काले जानकारी दिए । यस्तै, पोखरा–११ मा पनि चुनाव प्रचार अभयान जारी छ । चुनाव प्रचार समितिका संयोजक शारदा पौडेलका अनुसार पार्टीका सबै संयन्त्रको बैठक बसेर विभिन्न समितिहरू बनाएर अघि बढाइएको छ ।

उनका अनुसार यस क्षेत्रमा कात्तिक ३० गते शनिबार उम्मेदवार र जिल्लाका उच्च तहका नेताहरूसहितको मतदाता भेटघाट कार्यक्रम तय भएको छ । संविधानसभा सदस्य समेत रहेकी उनले पोखरा–११ कांग्रेसकै पकड क्षेत्र भएको भन्दै यस क्षेत्रमा पहिला भन्दा डब्बल मत ल्याउन कांग्रेस सक्रिय भएर लागेका जानकारी दिइन् । यसैगरी पोखरा–९ मा घरदैलोमार्फत मतदाता भेटघाट कार्यक्रम अन्तिम चरणमा पुगेको चुनाव प्रचार समितिका संयोजक वीरेन्द्रनारायण विजुक्छेले जानकारी दिए । पोखरा–९ मा विगतका चुनावमा भन्दा धेरै भन्दा धेरै कत तान्न कांग्रेस सक्रिय भएर लागेको र मतदाता पनि निकै उत्साहित रहेको संयोजक विजुक्छेले बताए ।

उनले भने, ‘आगामी मंसिर ३ गते उम्मेदवार खेमराज पौडेल, कास्कीका उच्च नेताहरू सहितको घरदैलो गर्ने तयारीमा छौं । पार्टीका सबै संयन्त्र परिचालन गरेर चुनावमा खटाएका छौं ।’
पोखरा–३३ मा पनि मतदाता भेटघाट अभियान तीव्र छ । पार्टीका केन्द्रीय सदस्य एवं चुनाव प्रचार समितिका संयोजक जीवन परियारले एक चरण सबै मतदातासंग भेटघाट भैसकेको र उम्मेदवारसहितको मतदाता भेटघाटको तयारीमा रहेको जानकारी दिए । उनका अनुसार आगामी मंसिर १ र २ गते उम्मेदवार खेमराज पौडेल र कास्की कांग्रेसका नेताहरू त्यस स्थानका मतदाता भेट्न पुग्ने कार्यक्रम तय भएको छ ।

बाँदरको समस्या समाधान गर्नेलाई भोट
नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेल बिहीबार दिनभर भलाम क्षेत्रमा घरदैलोमा सक्रिय भए । उनले बिहीबार भलाम र डाँडा खोरका करिब ३०० घरमा पुगेर मत मागे । साथै उनी धान काट्दै गरेका कृषकसंग पनि भेट गरेर भलाकुसारी गर्दै मत मागे । भलाम खोर, शेराखेतका कृषकले बाँदरको समस्या समाधान गर्ने उम्मेदवारलाई भोट दिने बताएका छन् । नेपाली कांग्रेसका उम्मेदवारसंग उनीहरुले यस्तो बताएका छन् ।

‘हामीलाई बाँदर (लाखु) ले सार्है दुःख दिएको छ, धेरै ठाउँमा समस्या सुनायौं तर समाधान गर्न कसैले ध्यान दिएनन् । जसले हाम्रो समस्या समाधान गिरिदन्छ उसैलाई हाम्रो भोट’, शेराखेतमा धान काटिरहेकी ६४ वर्षीया पुतलीमायाले भनिन् । उम्मेदवार खेमराज मत माग्न खेतसम्म पुगे । पुराना नेता खेमराजलाई खेतमै देखेपछि कृषक मख्ख परे । कतिपयले ‘खेमराज गुरु’ तपाईं नै होईन ? भन्दै अश्चर्य प्रकट गरेका थिए ।

डाँडाखोरका स्थानीयले लामो समयपछि पूराना नेतालाई घर गाउँमा देख्दा निकै खुशी भए । घरदैलोका क्रममा उम्मेदवार पौडेलसहित कास्की कांग्रेसका नेताहरु बिहीबार डाडाखोर पुगेका थिए । त्यस अवसरमा पौडेलका सहपाठीहरू निकै खुशी देखिन्थे । मतदाता भेटघाटका क्रममा केही संचारकर्मीसंग कुरा गर्दै उम्मेदवार पौडेलले कम्युनिष्ट सरकारले राज्यका सबै संयन्त्रको दुरुपयोग गरेको आरोप लगाए । उनले लोकतान्त्रिक संविधानलाई च्यालेन्ज दिंदै वर्तमान सरकार अधिनायकवाद तर्फ उन्मुख भएको बताए ।

सरकारको यस्ता रवैया र हावादारी गफले जनता निकै निराश भएको आफूले घरदैलो अभियानका क्रममा पाएको उनले बताए । उनले भने, ‘सरकारको यो रवैयालाई ठीक ठाउँमा ल्याउन र मुलुकमा कम्युनिष्ट शासनबाट जनता आजित भएका छन् भन्ने सन्देश दिन पनि यो चुनावमा कांग्रेसले जसरी पनि जित्नुपर्छ ।’ आफू उमेरले पाको भए पनि विचार र आफूले बोकेका सिद्धान्त नयाँ र प्रजातान्त्रिक भएको उनले स्पष्ट पारे ।

भलामको घरदैलोमा चुनाव प्रचार समितिका संयोजक एवं गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापा, संघीय सांसद विन्दादेवी राना, नेताहरू देवराज चालिसे, सरस्वती गुरुङ, ऋषि काफ्ले, शोभियतबहादुर अधिकारी, वीरेन्द्र नारायण विजुक्छे, क्षेत्रीय सभापति माधव बाँस्तोला मधु, नगर सभापति वजीरमान श्रेष्ठ लगायतका नेता कार्यकर्ताले साथ दिइरहेका छन् ।

भलामवासी कांग्रेसलाई मत दिन आतुर
नेपाली कांग्रेस उम्मेदवार खेमराज पौडेल मत माग्न पोखरा–२०, भलाम आईपुगेका छन् । साविक भलाम–१ बाट उनको चुनाव प्रचार अभियान शुरु भएको हो । साविक भलाम–१ कि ८५ वर्षीया तिलकुमारी खत्रीले उम्मेद्वार खेमराजलाई टीका, माला लगाईदिंदै दही खुवाएर अभियान शुभारम्भ गरिन् ।

अहिलेसम्म ८ पटक कांग्रेसको रुख चिन्हमा मतदान गरेकी उनले यस पटक झनै उत्साहित भएकी झन् । कांग्रेसक पुरानो नेता खेमराजले घरमै आएर भोट मागेको भन्दै उनी खुशी भएकी हुन् । पुराना मान्छेले चुनाव जित्यो भने धर्मको रक्षा हुने उनको विश्वास छ । पुराना मान्छेले धर्मको रक्षा गर्न सक्छन्, झुट बोल्न जान्दैनन् । त्यसैले उनले चुनाव जिते राम्रो हुन्छ, उनले भनिन् । खेमराजबाट आशा भन्दा पनि पूराना नेताले अवसर पाएकोमा उनी खुशी थिइन् ।

वृद्धा मतदाता खत्रीको आशामा समर्थन जनाउँदै उम्मेदवार खेमराजले धर्म, संस्कार, संस्कृति संरक्षण गर्न आफू प्रतिवद्धरहेको बताए । उम्मेदवार खेमराजका दौतरी तेजबहादुर गौतम पनि नेता खेमराजलाई घरमै पाउँदा निकै हर्षित भए । आफ्ना पूराना साथीलाई ढिलै भए पनि पार्टीले चिनेकोमा गौतमले खुशी प्रकट गरे । ‘मलाई जिताउन कांग्रेस पार्टी एक ढिक्का छ, तपाइँहरूको पनि असाध्यै मायाँ पाउँछु भन्ने विश्वास छ’, उनले मतदाता सामु भने । खेमराजलाई पार्टीले टिकट दिएको समाचार रेडियोबाट सुन्ने बित्तिकै आफू हर्षित भएको उनले बताए । लगातार लागिरहे पार्टीले १ पटक चिन्नेरहेछ भन्ने पुष्टि भएको गौतमले बताए । खेमराजलाई मत दिन भलामवासी निकै आतुर रहेको उनले स्पष्ट पारे ।

भलामको यो माहोलले कांग्रेसलाई निकै हौसला मिलेको गण्डकी प्रदेशसभा सदस्य एवं चुनाव प्रचार समिति पोखरा–२० का संयोजक विन्दुकुमार थापाले बताए । ‘भलाममा कांग्रेसको पक्षमा यतिराम्रो माहोल कहिल्यै थिएन, यो पटक राम्रो माहोल बन्यो । यसले आफूलाई पनि निकै उत्साहित बनाएको छ’, उनले भने । कांग्रेसका क्षेत्रीय सभापति माधवप्रसाद बास्तोला मधुले भलामबाट २ तिहाइ मत कांग्रेसको पक्षमा आउने दावी गरे ।

उनले भने, ‘पोखरा–२० मा करिब ४ हजार मतदाता छन् । त्यसमा २ हजारले कांग्रेसलाई मत दिने पक्का छ ।’ उम्मेदवार खेमराजले पपुलर मत पनि तान्ने सभापति बास्तोलाको विश्वास छ । उनले भने, ‘भलाममा उम्मेदवार खेमराजका धेरै साथीहरु छन्, उहाँका समकक्षी, विद्यार्थी पनि छन् । त्यसैले पपुलर मत ४०० कांग्रेसको पक्षमा आउछ ।’

‘आफू पोखरा बसेको २० वर्ष भयो, कहिल्यै उम्मेदवारको पछि लागेर हिंडेको थिइन’, कांग्रेसका एक समर्थकले भने, ‘यस पटक खेमरालाई जिताउन पूरै समय खर्चिएको छु ।’ उनले कांग्रेसको पक्षमा यस्तो राम्रो माहोल कहिल्यै नआएको दावी गरे । कांग्रेस नेता देवराज चालिसेले आफू उम्मेदवार बनेर आउँदा पनि यति राम्रो माहोल नभएको बताए । उनले पछिल्लोक्रममा पार्टीप्रति जनताको विश्वास असाध्यै बढेको दावी गरे । उनले भने, ‘सरकारको रवैयाका कारणले होला कम्युनिष्टलाई विश्वास गर्न छाडेका छन्, कांग्रेसप्रति भरोषा पनि गरेको पाइयो ।’

पोखरा–२० भलामको घरदैलोमा उम्मेदवार पौडेल, सांसद विन्दुकुमार थापा, कांग्रेसका क्षेत्रीय सभापति माधव प्रसाद बाँस्तोला मधु, नगर सभापति वजिरमान श्रेष्ठ, नेताहरू देवराज चालिसे, सरस्वती गुरुङ, वीरेन्द्र नारायण विजुक्छे लगायत नेता कार्यकर्ता सहभागी छन् । उम्मेदवार पौडेलले आज बिहीबार भलाम चण्डीपाटन, तल्लोचौर, मौजा आँटीघर लगायतका क्षेत्रमा र भोलि शुक्रबार मौजा, लामाडाँडा र लामाखेतमा घरदैलो गरेर मत माग्ने कार्यक्रम छ । यस अभियानमा कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र कास्की कांग्रेसका सभापति कृष्ण केसी, नेताहरू शुक्रराज शर्मा, यज्ञबहादुर थापा लगायत पनि सहभागी हुने क्षेत्रीय सभापति बाँस्तोलाले जानकारी दिए ।