समृद्धिको सपना साकार पार्न आएँ ः विद्या

पोखरा ।

नेकपा कास्की २ का उम्मेद्वार विद्या भट्टराई अधिकारीले आकस्मिक रुपमा उत्पन्न परिस्थितिपछि पार्टीले सर्वसम्मत विश्वास गरेर जिम्मेवारी दिएपछि उम्मेद्वार बनेको बताएकी छन् । उनले नेकपा नेता रवीन्द्र अधिकारीले प्रतिवद्धता गरेका बाँकी सपना पूरा गर्ने अभियान नै निर्वाचन भएको विचार राखिन् ।

पोखरा २१ निर्मलपोखरीमा आइतबार भएको कार्यक्रममा उनले भनिन्, ‘जुन, देश निर्माणकालागि उहाँ वाचा गरेर उहाँले जानुभएको थियो । त्यो बाचा पूरा गर्ने अभियानमा जुटिरहेको अवस्थामा गुमाउनुप¥यो ।’ गत फागुन १७ गते भएको दुर्घटनापछि आफूलाई कास्कीका आमाहरु, बाहरु, दिदिबहिनीहरु, दाइहरुले साथ दिएको उल्लेख गरिन् । उनले भनिन्, ‘मसँगै आसु पुछ्न सिङ्गो जनसमुदाय छ ।

त्यसैको आडमा अघि बढ्छु भन्ने निर्णय गरें । र, आज उम्मेदवारको रुपमा उपस्थित भएकी छु ।’पोखरा २१ को निर्वाचन परिचालन कार्यालय पनि आइतबारै सुरु भएको छ । उनले आफू समृद्ध नेपाल र सुखी नेपाली निर्माण गर्ने अभियानको अभियान्ता बन्ने प्रतिज्ञा गरिन् ।

नेकपा गण्डकी सहइन्चार्ज खगराज अधिकारीले जनताले दिएको ५ वर्ष नपुग्दै अकल्पनीय घटनाका कारण फेरि चुनावमा होमिनुपरेको उल्लेख गरे । यस क्षेत्रको सडक, खानेपानी लगायतका विकासका पूर्वाधारमा रवीन्द्र अधिकारीको उल्लेख्य योगदान रहेको उनले स्मरण गरे । कार्यक्रममा नेकपा पोखरा महानगर अध्यक्ष दीपक पौडेल, नेकपा पोखरा २१ अध्यक्ष कृष्ण थापामगरले पनि बोलेका थिए ।

विप्लव कास्की नेता नेकपामा

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपा कास्कीका नेता भगवतीप्रसाद लम्साल (राजेश) सो पार्टी परित्याग गरी नेकपा प्रवेश गरेका छन् । शनिबार बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)सँग भेट गरेका उनले आइतबार विज्ञप्ति निकालेर पार्टी परित्याग गरेका हुन् । लम्सालले शान्तिपूर्ण राजनीतिक गतिविधिका माध्यमबाट जनताको सेवाका लागि नेकपा रोजेको विज्ञप्तिमा उल्लेख छ ।