कास्कीमा उम्मेदवार छान्न कांग्रेसलाई सकस

पोखरा ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई १४ मंसिरमा हुने उपनिर्वाचनमा उम्मेदवार टुंगो लगाउन सकस परेको छ । जिल्लाबाट मागेको भन्दा धेरै उम्मेद्वारको सिफारिस आएपछि कांग्रेसलाई सकस भएको हो।

निर्वाचान बोर्ड गठनले उम्मेदवार छान्नुपर्ने भए पनि बोर्ड नहुँदा केन्द्रीय समितिले यो जिम्मेवारी पदापधिकारीलाई दिएको थियो । पदाधिकारीले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार टुंगो लगाउने छन् ।

उपनिर्वाचनका लागि बिहीबार मनोनयन हुने भए पनि कांग्रेसले हालसम्म उम्मेदवार टुंगो लगाउन सकेको छैन । मंगलबार बिहान बसेको पदाधिकारी बैठकमा पनि विवाद भएपछि बैठक दिउँसोलाई सारिएको छ । केहीबेर अघि बैठक सुरु भएको छ । विषेश गरेर कास्की २ मा उम्मेदवार टुंगो लगाउन कांग्रेसलाई अप्ठ्यारोपरेको छ ।

कास्कीबाट यो क्षेत्रका लागि १६ जनाको नाम सिफारिस भएको छ । तर, यो क्षेत्रमा केन्द्रीय सदस्य धनराज गुरुङले आकांक्षा राखेका छन् । यो क्षेत्र गुटगत भागबन्डाका झममा वरिष्ठ नेता रामचन्द्र पौडेललाई परेको छ ।

पौडेल पनि गुरुङका पक्षमा सकारात्मक छन् । तर, कास्की जिल्ला पार्टीले जिल्ला बाहिरको आए अस्वीकार गर्ने चेतावनी दिएपछि कांग्रेसलाई समस्या छ । गुरुङ स्याङ्जाका हुन् । आजै उम्मेदवार टुंगो लगाउने कसरतमा कांग्रेस जुटेको छ ।

यस्तै कास्की काँग्रेस कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा उम्मेद्वारी दर्ताका लागि जुलुस सहित जाने भएको छ । कास्की काँग्रेसको मङ्गलबारको बैठकले कात्तिक २१ गते बिहीवार पोखराको सभागृहबाट जुलुससहित उम्मेद्वारी दर्ताका लागि निर्वाचन कार्यालय जाने निर्णय गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए । कास्की काँग्रेसले मातहतका समितिसहित शुभेच्छुकलाई जुलुसमा सहभागी हुन अनुरोध गरेको छ । बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा बसेको थियो ।