कास्कीमा विद्या भट्टराई सर्वसम्मत

पोखरा ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीले कास्की–२ को उम्मेदवार टुंगो लगाएको छ । पार्टीले नेतृ विद्या भट्टराईलाई एकल उम्मेदवारको रुपमा सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार पार्टीको जिल्ला कमिटी बैठकले विद्यालाई सर्वसम्मत रुपमा केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो ।

नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले सर्वसम्मत रुपमा नै सिफारिस गरिएको जानकारी दिए । गण्डकी प्रदेशसभा सदस्य समेत रहेका थापाले भने ‘सर्वसम्मत रुपमा सबै साथीहरूले नै विद्याजीलाई सिफारिस गर्ने प्रस्ताव ल्याउनुभयो, सबैको सहमतिमा नै एकल रुपमा उहाँलाई सिफारिस गर्ने निर्णय गरेका हौं ।’

भट्टराई स्व. रविन्द्र अधिकारीकी धर्मपत्नी समेत हुन् । कास्की २ मा मंसिर १४ मा उपनिर्वाचन हुँदैछ । कास्की २ प्रतिनिधिसभाको उपनिर्वाचनका लागि चुनाव हुने १ मात्र क्षेत्र हो ।

यस क्षेत्रका लागि नेपाली कांग्रेसले नेता देवराज चालिसेसहित १६ जनाको नाम सिफारिस गरेको छ । साझा पार्टीले भने रजनी केसीलाई उम्मेदवार घोषणा गरेको छ ।