देशलाई क्यान्सर नै भएको थियो – पहारी

पोखरा ।

गण्डकी प्रदेश सांसद् राजिव पहारीले देशलाई क्यान्सर रोग भएकाले यसलाई निको पार्न समय लाग्ने बताएका छन् । पोखरा २२ पुम्दी भुम्दीमा नेकपा वडा कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमका प्रमुख अतिथि सांसद पहारीले व्यङ्ग्य गर्दै ज्वरो मात्रै आएको भए सिटामोल खुवाएर छिटै निको पार्न सकिन्थ्यो, क्यान्सर नै भएकाले निको हुन समय लाग्ने बताएका हुन् ।

चुनावबाट निर्वा्चित भई अहिलेसम्म गरेका कामको परिणाम अब देखिदै जाने बताउँदै उनी भन्छन्– ‘जनताका आधारभुत आवश्यकतालाई पुरा गर्दै खानेपानी, बाटो, पुलजस्ता विकासका कार्यलाई अगाडी बढाईरहेका छौं । चुनावमा जुन बाचा गरेर जनताको सेवा गर्न यहाँ आएका छौं त्यही बाचा अनुरुपनै कामहरु गरिरहेका छौं ।’

त्यसैगरि कार्यक्रममा कास्कीका पूर्व प्रमुख जिल्ला अधिकारी नरहरी बरालले चाडबाडले आपसी सद्भाव कायम गराउन ठुलो भुमिका खेल्ने हुँदा चाडबाडलाई सद्भावका साथ मनाउनुपर्नेमा जोड दिए । पोखरा २२ का वडा अध्यक्ष मित्रलाल बरालले बजेटका कारण वडा वासीको सबै अपेक्षालाई पुरा गर्न नसकिए पनि सबै क्षेत्रमा समान रुपमा विकास गरिएको बताए ।

नेकपा वडा कमिटिका अध्यक्ष चण्डीका प्रसाद बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा आउँदै गरेको दिपावली अवसरमा वडा कमिटिले देउसी भैलो कार्यक्रम भव्य रुपमा गर्ने घोषणा समेत गरेको छ ।