प्रदेश सवारी तथा यातायात सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक प्रमाणिकरण

पोखरा ।

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ‘प्रदेश सवारी तथा यातायात सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक’ लाई प्रमाणिकरण गरेका छन् । गण्डकी प्रदेश सभाले पारित गरेको उक्त विधेयकलाई प्रदेश प्रमुख कुँवरले शुक्रबार प्रमाणिकरण गरेका हुन् ।

गण्डकी प्रदेश सभामुख नेत्रनाथ अधिकारीले असोज २८ गते प्रमाणित गरेपछि सोही दिन गण्डकी प्रदेश सभा सचिवालयले प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो । नेपालको संविधान धारा १९९ को उपधारा १ मा प्रदेश सभाले पारित गरेका विधेयक प्रमाणिकरणका लागि प्रदेश प्रमुख समक्ष पेश गर्नुपर्ने प्रावधान छ ।

प्रदेश प्रमुख कुँवरले शुक्रबार पाँच प्रति विधेयकमा हस्ताक्षर गरि प्रमाणिकरण गरेका थिए । नेपालको संविधान धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले विधेयक प्रमाणिकरण गरेका हुन् । सोही धाराको उपधारा ५ बमोजिम प्रदेश प्रमुखबाट प्रमाणिकरण भएपछि विधेयक ऐन बन्छ ।

गण्डकी प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव विश्वप्रकाश न्यौपानेले प्रदेश प्रमुख कुँवरले प्रमाणित गरेका ती विधेयकमध्ये एक प्रति प्रदेश प्रमुखको कार्यालयमा राखिएको तथा बाकीमध्ये मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश सभाको सचिवालय र संघीय कानून तथा संसदिय व्यवस्था मन्त्रालयमा एक÷एक प्रति पठाइएको जानकारी दिए ।