कास्कीमा बढी भाडा लिने सवारी र मिटरमा नचल्ने ट्याक्सी कारबाहीमा

पोखरा ।

पोखरा र कास्कीमा बढी भाडा लिने सवारी र मिटरमा नचल्ने ट्याक्सीलाई कारबाही गरिएको छ । चाडपर्वका बेला यात्रुलाई अफ्ठ्यारोमा पारी मनोमानी रुपमा सर्बसाधारणहरुसंग बढी भाडा लिएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराबाट काठमाडौं चल्ने ३ वटा ठुलो तथा २ वटा माइक्रोबसलाई कारबाही गरेको छ ।

टिकट नकाटी यात्रुहरुसंग बढी भाडा लिएको पाईए पश्चात आफुहरुले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख उपरिक्षक (एसपी) दानबहादुर कार्कीले बताए ।

उनका अनुसार नियम विपरित तोकिएको भन्दा बढी भडा असुल गर्ने सबारी साधनको धनी तथा चालकहरु उपर कालोबजारी तथा सार्वजनिक हित विरुद्धको कसुर अन्तरगत मुद्धा दर्ता गरी कारबाही भइरहेको छ । नियमविपरित भाडा लिने हरकोहिलाई प्रमाण सहित सुचना आएको खण्डमा नछोडिने कार्कीको भनाई थियो ।

यस्तै, दशैंको समयमा पोखरा महानगरपालिकाका विभिन्न स्थानहरुमा मिटरमा नगई आफु खुसी जथाभाबि भाडा लिने तथा मिटर जडान नगरी ट्याक्सी चलाउने १२२ वटा ट्याक्सीहरुलाई कारबाही गरिएको कास्की प्रहरीले जानकारी गराएको छ । प्रहरीले सर्वसाधारणलाई मिटरमा ट्याक्सी चल्न नमाने आफुलाई खबर गर्न आग्रह समेत गरेको छ ।