पोखरामा च्याङ्ग्राको व्यापारमा वृद्धि

पोखरा ।

पोखरामा च्याङ्ग्राको व्यापारमा वृद्धि भएको छ । नेपालीहरुको महान चाड बडा दशैँलाई लक्षित गर्दै पोखरामा भेडा च्याङग्रा भित्रियसँगै आज फुलपातीको दिन किन्ने मानिसहरुको संख्या बढेको हो । पोखराको टुडिखेल, विन्ध्यवासिनी, सिमपानीमा भेडा च्याङ्ग्रा किन्नेहरुको भिड लागेको हो । व्यापार पनि अघिल्ला दिनहरुभन्दा शनिबार वृद्धि भएको व्यवसायीहरु बताउँछन् ।

फुलपातीको दिन केही सस्तो हुन्छ भनेर आएको सुनाउँने तनहुँका सुजन बरालले परिचय नेटवर्कसँग भने– ‘मुल्य सुन्दै तर्सिए । च्याङग्रा महंगो त हुन्छ तर फुलपातीमा घट्छ की भनेर लिन आएको । घटेकै नरहेछ ।’ त्यस्तै दशैमा च्याङ्ग्रा खान मन लाग्ने बताउने मोहन अधिकारी महंगीको कारणले सामान्य स्तरको मानिसले च्याङग्रा किनेर खान नसकिने बताउँछन् । पोखरामा राखिएका च्याङ्ग्राको मुल्य व्यवसायी अनुसार फरक फरक रहेको छ ।

झुण्डबाट छानेर एउटाको २४ हजार, २७ हजारदेखि ३५ हजार सम्मका च्याङ्ग्रा रहेका छन् । पोखरा भित्रिएका भेडा च्याङग्रा मध्ये ७५ प्रतिसत पोखरामै खपत हुने च्याङग्रा ब्यवसायीहरु बताउँछन् । करिव २० प्रतिशत च्याङग्रा बुटवल, नारायणगढ लगायतका ठाउँहरुमा लगिने गरेको छ । दशैका बेला पोखरामा करिब १ अर्ब ५० करोड बराबरको मासुको कारोबार हुने गरेको अनुमान छ ।

जसमा ६० करोड भन्दा बढी च्याङग्राको कारोवार हुने गरेको पोखराका मासु व्यवसायीहरुको तथ्याङकमा उल्लेख छ । हिमाली जिल्ला मुस्ताङ सहित हुम्ला, मुगु, डोल्पा, बझाङ लगायतका स्थानबाट बडादशैंका लागि ल्याइएका भेडा च्याङ्ग्रा पोखराका विभिन्न स्थानबाट बिक्रि भइरहेको छ । पोखरा झरेका च्याङ्ग्रा स्याङ्जा, तनहुँ, चितवन हुँदै बुटवलसम्म पुग्ने गरेका छन् ।