‘पोखरामा प्रमोद खरेल’सँग हङकङ ब्यूटि इन्स्टिच्यूटको सहकार्य

पोखरा, २० चैत ।

साँगीतिक कार्याक्रम ‘पोखरामा प्रमोद खरेल’को मिति नजिकिँदै गर्दा यसको आयोजक संस्थाले तयारीलाई तीव्र पारेको छ । अन्तिम तयारीमा जुटिरहेको आयोजकलाई विभिन्न संघसंस्थाहरुले सहयोग गर्ने क्रम पनि बढेको छ ।

पछिल्लो पटक यो इभेन्टसँग पोखराको हङकङ ब्यूटि इन्स्टिच्यूट प्रालि जोडिएको छ । प्रायोजकको रुपमा इन्स्टिच्यूट यो इभेन्टसँग जोडिएको हो । आयोजक संस्था एभिन्यू ग्रुप अफ कमर्शका कार्यकारी अधिकृत प्रदिप अधिकारी र इन्स्टिच्यूटका संचालक वरिष्ठ सौन्दर्यकर्मी मिना गुरुङबीच इभेन्टका लागि सम्झौता भएको हो ।

‘पोखरामा प्रमोद खरेलको ऐतिहासिक कार्यक्रम हुने र त्यसमा हामी नजोडिने कुरै हुँदैन । यो कार्यक्रमको हामी पनि एउटा हिस्सा भएका छौँ । र, यो सम्झौता गर्न पाउँदा हामीलाई खुशी लागेको छ ।’ इन्स्टिच्यूटकी संचालक मिना गुरुङले भनिन् ।

त्यस्तै एभिन्यू ग्रुप अफ कमर्शका कार्यकारी अधिकृत प्रदिप अधिकारीले इन्स्टिच्यूटसँगको व्यवसायिक सहकार्यले कार्यक्रमका लागि झन् बढि हौसला थपेको बताए । ‘यस्तै सहयोगबाट नै हामीले कार्यक्रमलाई अझै भव्य र सफल बनाउन सक्छौँ ।’ उनले भने–‘इन्स्टिच्यूटलाई हामी धन्यबाद दिन चाहन्छौँ ।’

चैत २२ गते हुने साँगीतिक कार्यक्रम ‘पोखरामा प्रमोद खरेल’लाई बार्दली मिडिया प्रालिले व्यवस्थापन गरिरहेको छ । इभेन्टलाई सम्झनलायक हुने तरिकाले भव्य बनाउने योजनामा व्यवस्थापक कम्पनी रहेको बार्दली मिडियाका इभेन्ट को–अर्डिनेटर मनकुमार श्रेष्ठले बताए ।

यो कार्यक्रम पोखरा सभागृहमा हुँदैछ । कार्यक्रममा प्रमोद खरेलले पोखरेली दर्शक तथा स्रोतामाझ आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्नेछन् । कार्यक्रममा उनीसँगै मिना निरौला, अभिनेत्री केकी अधिकारी र हाँस्य व्यङ्गकार मनोज गजुरेलको पनि विशेष प्रस्तुती रहनेछ ।