चितवनमा रगत अभाव

चैत १९, चितवन ।


गर्मी मौसम सुरु भएसँगै जिल्लामा रगतको अभाव देखिएको छ। क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरका अनुसार मौसममा आएको परिवर्तन, एसइई परीक्षा, कलेजमा हुने वार्षिक परीक्षालगायतका कारण रगतको अभाव देखिएको हो।

केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार जिल्लामा दैनिक करिब १०० युनिट रगतको माग भए पनि सो माग पूर्ति गर्न सकिएको छैन। दैनिकरूपमा सरदर ५०र६० युनिट मात्र रगत सङ्कलन भएको उनले बताए। यो समयमा अस्पतालमा बिरामीको चाप बढ्ने हुँदा रगतको माग बढी हुने तर रक्तदान कार्यक्रम कम सञ्चालन हुने गर्दछ।

केन्द्रसँग समन्वय गरेर जिल्लाका ३०० भन्दा बढी संघ संस्थाले हरेक वर्ष रक्तदान गर्दै आएका छन्। केन्द्रले नवलपरासी, मकवानपुर, रौतहट, सर्लाही, धादिङ, गोरखा, तनहुँ र लम्जुङ पुगेर रेडक्रससँग समन्वय गरी रगत सङ्कलन गर्ने गर्दछ।

रगतको अभाव भएपछि अति आवश्यक पर्नेहरुले आफैँले रक्तदाता खोजेर रगतको पूर्ति गरिरहेका छन् भने स्वयंसेवकले समेत सहयोग गरिरहेको केन्द्रले जनाएको छ। जिल्लामा रहेको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बढी रगतको आवश्यक पर्ने हुन्छ भने यहाँका ठूला दुई मेडिकल कलेज, सरकारी भरतपुर अस्पताल र निजी अस्पतालमा पनि पछिल्लो समय हुने गरेका शल्यक्रियाका कारण रगतको माग बढ्दो छ। रासस