महिला संघ क्षेत्र नं २ कास्कीको शुभकामना आदानप्रदान

पोखरा ।

विजयादशमी, दिपावली, नेपाल सम्वत्, छठ र इदको अवसरमा नेपाल महिला संघ क्षेत्र नं २ कास्कीले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । पोखरा चिप्लेढुङस्थित कास्की काँग्रेस परिषरमा आयोजित कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ता, शुभच्छुकको सहभागिता रहेको थियो ।

त्यस अवसरमा महिला संघलाई सहयोग गरेको भन्दै नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष एवं कास्की काँग्रेसका सदस्य नवीन सिग्देल र समाजसेवी विमल बस्याललाई सम्मान गरिएको थियो । कार्यक्रममा काँग्रेसका केन्द्रीय आमन्त्रित सदस्य सूर्यबहादुर केसीले सरकारले संविधान विपरीत काम गरिरहेको बताए ।

उनले सरकारको ज्यादती बढ्दै गइरहेको भन्दै प्रतिपक्षमा रहेको काँग्रेसले शशक्त खबरदारी गर्न आवश्यक रहेको बताए । ‘काँग्रेस एक भए कुनै शक्तिको केही चल्दैन उनले भने, ‘काँग्रेस एक बनेर मुलुक जोगाउनुपर्छ।’ उनले मुलुकमा विदेशी चलखेल बढेको भन्दै चिन्ता व्यक्त गरे ।

काँग्रेस नेता शुक्रराज शर्माले सम्भावना भएकाले उपनिर्वाचनमा इच्छा देखाउनुपर्ने र सम्भावना भएकालाई नै उम्मेद्वार बनाउनुपर्नेमा जोड दिए । उनले कुनै पनि काँग्रेसजनले कम्युनिष्टलाई फाइदा हुने कुनै काम गर्न नहुने बताए । नेता खेमराज पौडेलले सरकारका कारण जनता आजित भैसकेकाले जनभावना अनुसार काँग्रेस अघि सर्नुपर्ने औंल्याए ।

कार्यक्रममा नेता सोभियतबहादुर अधिकारी, देवराज चालिसे, संविधानसभा सदस्य शारदा पौडेल, कास्की काँग्रेस कोषाध्यक्ष लक्ष्मी पाण्डे, नेपाल महिला संघकी केन्द्रीय सदस्य तारा अधिकारी, कास्की अध्यक्ष कोपिला रानाभाट, नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीका सभापति माधव बास्तोला ‘मधु’, महिला संघ क्षेत्र नं १ कास्की सभापति अप्सरा श्रेष्ठ, पोखरा महानगर सभापति माया बरालले बोलेकी थिइन् ।

नेपाल महिला संघ क्षेत्र नं २ कास्कीकी सभापति इन्द्रमाया बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा सचिव निर्मला कार्कीले स्वागत र रामकुमारी पौडेलले सञ्चालन गरेकी थिइन् ।