जलकुम्भी निकाल्ने अभियान स्थगित, अभियानमा खटिने सबैलाई धन्यबाद

पोखरा ।

पोखराको प्रमुख पर्यटकीय गन्तब्य फेवाताल जलकुम्भी झारले ढाकिएपछि त्यसलाई हटाउन महानगरले सञ्चालन गरेको अभियान स्थगित गरिएको छ । महानगरले सञ्चालन गरेको अभियानबाट तालमा रहेको ५० प्रतिशत जलकुम्भी भार निकालिएको र नेपालीहरुको महान पर्व दशैका कारण अभियान स्थागित गरिएको महानगरले जनाएको छ ।

पोखरा महागनरपालिकाका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा सोमबार बसेको बैठकले अभियान स्थगित गर्ने र एक साता फेवा डुङगा व्यवसायी र जलारी समुदायलाई जलकुम्भी झार निकाल्ने जिम्मा दिने निर्णय गदै महागनरले सञ्चालन गरेको एक हप्ते अभियानमा सहयोग गर्ने सवैलाई धन्यबाद ज्ञापन गरेको छ । महागनरले सञ्चालन गरेको एक हप्तेअभियानबाट तालबाट दुई सय ट्रक जलकुम्भी झार निकालिएको पोखरा जलकुम्भी झार व्यवस्थापन समितिका संयोजक पुण्यप्रसाद पौडेलले बैठकमा जानकारी गराए ।

संयोजक पौडेलका अनुसार हप्ताको अभियानमा तालमा रहेको ५० प्रतिशत झार निकालिएको र बाँकी झार निकाल्न असोज १७ गतेसम्म डुङगा व्यवसायी र जलारी समुदायलाई दैनिक ज्याला उपलब्ध गराएर झार निकाल्ने जिम्मा दिने निर्णय भएको बताए । त्यस्तै बैठकले जलकुम्झी भारको दीर्घकालिन व्यवस्थापनका लागि लगत इष्टिमेट सहित तयार गरेर संघीय सरकार र गण्डकी प्रदेश सरकारलाई प्रस्ताव पेश गर्ने निर्णय समेत भएको महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत गगांलाल सुवेदीले बताए ।

त्यस्तै बैठकले असोज १७ गतेसम्म डुङगा व्यवसायी र जलारी समुदायबाट जलकुम्भी झार फाल्ने कार्यको अनुगमन गर्ने जिम्मेवारी महानगरका सरसफाई शाखा प्रमुख कल्पना बराललाई दिने निर्णय समेत गरेको छ । दैनिक कति जनाले कति समय काम गरेर भन्ने बारे जानकारी राख्ने र उनीहरुलाई दैनिक ज्याला उपलब्ध गराइने निर्णय समेत बैठकले गरेको छ । बैठकले अभियानमा सहयोग गर्ने नेपाल प्रहरी, नेपाली सेना,सशस्त्र प्रहरी, जनप्रतिनिधि, नागरिक समाज, कर्मचारी, नगर प्रहरी, आमा समुह, क्लब लगायत सम्पूर्ण संघसंस्थालाई आभार सहित धन्यबाद ज्ञापन गर्ने निर्णय समेत गरेको छ । बैठकमा बोल्दै महानगर प्रमुख मानबहादुर जिसीले अभियानले जलकुम्भी झार निकाल्न ठूलो भुमिका खेलेको बताउदै अव दीर्घकालिन योजना बनाएर अगाडी बढनुपर्ने बताए ।

उनले जलकुम्भीलाई माथिनै रोक्न ड्याम बनाउनुपर्ने तर्फ ध्यान केन्द्रीत भएको बताए । गण्डकी प्रदेश सरकार र महानगर मिलेर ड्याम बनाउने तर्फ लाग्दा तालमा जलकुम्भी आउने अवस्था अन्त्य हुने विश्वास प्रमुख जिसीले ब्यक्त गरे । कास्कीका प्रमुख जिल्ला अधिकारी सुरेश केसीले एक हप्ते अभियानमा सुरक्षा निकायको सहभागीता राम्रो रहेको बताउदै आवश्यक परेका बेला सहयोग गर्न तयार रहेको बताए । उनले फेवातालका बारेमा अल्पकालीन र दीर्घकालिन योजना बनाउनुपर्नेमा जोड दिए । झार व्यवस्थापन समितिका संयोजक पुण्यप्रसाद पौडेलले दशै र तिहारपछि दीर्घकालिन योजना बनाएर अगाडी बढने बताए । दशैपछि जलकुम्भी विज्ञ सहित ल्याएर थप छलफल गरिने बताए । डुङगा व्यवसायी समितिका अध्यक्ष बृद्धिबहादुर नेपालीले असोज १७ गतेसम्म दैनिक नौ बजेदेखि साँझ चार बजेसम्म जलकुम्भी झार निकाल्ने प्रतिबद्धता जनाए । त्यस्तै ज्ञानबहादुर जलारीले जलकुम्भी झार हटाउन तयार रहेको बताउदै शुक्रबार सम्म खटिने बताए ।

भदौ अन्तिम साता आएको बाढीले बगाएर ल्याएको जलकुम्भी झारले फेवाताल पुरै ढाकेपछि कुरुप भएको थियो । ताल जलकुम्भी झारले ढाकेपछि आन्तरीक तथा बाह्य पर्यटकलाई ढुङगामा सय गर्न समस्या भएको थियो । पोखरा महानगरले फेवाताल जलकुम्भीमय भएपछि महानगरले झार व्यवस्थापन गर्न समिति नै गठन गरेर अभियान सञ्चालन गरेको थियो । जलकुम्भी झार हटाउन हरेक दिन विहान ७ देखि ९ बजेसम्म अभियान सञ्चालन गरिएको थियो ।