लमजुङको गिलुङमा पर्यटन महोत्सव हुने

पोखरा ।

लमजुङ जिल्लाको क्ब्होंलासोथर गाउँपालिका वडानं ९मा अवस्थित गिलुङमा पर्यटन महोत्सव हुने भएको छ । गिलुङ गाऊ, गिलुङ समाज पोखरा, गिलुङ समाज यूके, गिलुङ समाज हङकङ र क्ब्होंलासोथर गाउँपाकिलाको संयुक्त आयोजनामा पर्यटन महोत्सव हुन लागेको विहिबार पोखरामा पत्रकार सम्मेलन गरेर गिलुङ समाज पोखराले सो जानकारी दिएको हो ।

समाजका अध्यक्ष दुधमान गुरुङ (आशिष)ले नेपालकै शुन्दर गाउँ मध्यको गाउँमा पर्ने गिलुङमा आउदो कार्तिक २९ र ३० गते महोत्सव हुन लागेको बताउनुभयो । महोत्सव सफलपार्न स्थानिय मिलन युवा क्लबका अध्यक्ष सन्तोष गुरुङको संयोजकत्वमा १०१ मुल आयोजक समिति गठन भएको बताउनुभयो । मुल आयोजक समिति संगै विभिन्न उपसमिति गठन भएको गुरुङको भनाई छ ।

आर्थिक संकलन उपसमिति संयोजकमा पस बहादुर गुरुङ,अतिथि सत्कार उप–समिति संयोजकमा देवीसुब्बा गुरुङ,प्रचार प्रसार उप–समिति संयोजकमा लेख वहादुर गुरुङ ,सांस्कृतिक उप समिति संयोजकमा चन्द्र प्रसाद गुरुङ र पोखराको संयोजकमा गिलुङ समाज पोखराका अध्यक्ष दुधमान गुरुङ (आशिष) रहनु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको वडा समेत पर्ने गिलुङ गाउँ पर्यटनको लागि सम्भावना क्षेत्र भएको गाउँ रहेको समाजका उपाध्यक्ष सुवेदार हनेरी क्याप्टेन कुश प्रसाद गुरुङले बताउनु भयो ।

पर्यटन महोत्सवमार्फत गिलुङको थप पर्यटनमा विकास पुग्ने स्थानीयको आयआर्जनमा वृद्धि हुने राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तरमा गाउँको प्रचारप्रसार हुने अपेक्षाले महोत्सवको आयोजना गर्न लागिएको सोही वडाका वडाध्यक्ष नन्दजंग गुरुङले बताउनुभयो । महोत्सवले गुरुङ संस्कार, कला संस्कृति र परम्परालाई संरक्षण एवं सम्बद्र्धन गर्न महत्वपुर्ण भुमिका खेल्ने विश्वास लिएका समासेवी मच्छेन्द्र गुरुङले जानकारी दिनुभयो । महोत्सवका संयोजक सन्तोष गुरुङले मेलामा छेलो हान्ने प्रतियोगिता साथमा विभिन्न सास्कृति कार्यक्रम पनि हुने बताउनु भएको छ ।

लम्जुङ जिल्लाको उत्तर पश्चिममा अवस्थित उत्तर तर्फ फर्केको क्ब्होंलासोथर गाउँपालिका वडानं ९मा अवस्थित गिलुङ गाउँ नेपालकै सुन्दर गाउँ मध्ये एक रहेको र गिलुङ गाउँ समुद्र सतह बाट १४सय ५० मीटरको उचाईमा छ । त्यहाँबाट चारै तिरको दृश्यअवलोकन गर्न सकिन्छ । गिलुङलाई गुरुङ भाषामा क्लीनु भनिन्छ ।त्यहाँको हावापानी बाह्रै महिना चिसो रहन्छ । गुरुङ्हरुको बाहुल्यता रहेको यो गाउँमा अन्य जाति को पनि बसोबास छ । लगभग ४०० घरधुरी भएको यो गाउँ ठुलो र फराकिलो पनि छ ।गिलुङ गाउँसम्म पुग्न यातायातको राम्रो सुबिधा छ ।

पोखराबाट लगभग ५४ कि मी को दूरीमा अबस्थित छ । पोखराबाट दैनिक तीन वटा यात्रु बस छुट्ने गर्छन । काठमाडौं बाट आउदा दमौली भएर भोर्लेटार हुदै यस गाउँमा पुग्न सकिन्छ । बेशीशहर मालिङ हुदै पनि गिलुङ गाउँ पुग्न सकिने आयोजकले जनाएको छ ।