वुमेन्स बिकिनी एण्ड फिजिक च्याम्पियनसिप’ को तयारी पूरा

पोखरा ।

पोखराको सभागृहमा आउदो शनिबार (११ गते) आयोजना हुने ‘वुमेन्स बिकिनी एण्ड फिजिक च्याम्पियनसिप–२०१९’ को सम्पूर्ण तयारी पूरा भएको छ । गोर्खा क्लासिक नेपालले आयोजना गर्ने पहिलो संस्करणको ‘वुमेन्स बिकिनी एण्ड फिजिक च्याम्पियनसिप’ को सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष कुमार गुरुङले जानकारी दिए ।

उनका अनुसार दिउँसो दिनको १ बजे देखी कार्यक्रम सुरु हुनेछ । शारीरिक सुगठन खेल प्रति महिलाहरुलाई प्रबेश गराउन र व्यवसायिक बनाउने लक्ष्य सहित च्याम्पियनसिपको आयोजना गरेको बताए । उनले बिक्नी र फिजिक गरी दुई बिद्यामा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने बताए ।

उनका अनुसार फिजिक तर्फको बिजेताले नगद रु २ लाख प्राप्त गर्नेछ भने उपबिजेता र सान्त्वना स्थान हाँसिल गर्ने खेलाडीले क्रमश १ लाख ५ हजार र ८० हजार हात पार्नेछ ।

त्यस्तै बिकिनी तर्फको बिजेता खेलाडीलाई ८० हजार प्रदान गरिने गुरुङले बताए । उनका अनुसार उपबिजेता खेलाडीलाई ६० हजार र सान्त्वना बन्न सफल खेलाडीलाई ५० हजार प्रदान गरिनेछ ।

उक्त प्रतियोगितामा एउटा खेलाडीले एक बिद्यामा मात्र भाग लिन पाउने बताउदै उपाधिका लागि तिन चरण पार गर्नुपर्ने उनले बताए । गोर्खा क्लासिक नेपालका सचिब भरत गुरुङले प्रतियोगितामा खेलाडीहरुको उचाईको आधारमा सहभागि गराईने बताए ।

गुरुङले देशभरबाट अहिलेसम्म १५ बढि खेलाडीले नाम दर्ता गरिसकेको बताए । कार्यक्रममा आईएफबीबी प्रो बिनिता राईको बिशेष प्रस्तुति रहने र जुम्बा तथा टिकटक शो समेत समाबेश गरिएको आयोजकले जनाएको छ ।