दिगो बिकास लक्ष्यका लागी आवश्यकता आधारमा कार्यक्रम गरौं ः मन्त्री पुन

पोखरा ।

गण्डकी प्रदेश सामाजिक बिकास मन्त्री नरदेवी पुनले दिगो बिकास लक्ष्य प्राप्तिका लागि आवश्यकताको आधारमा कार्यक्रमहरु तय गरिनुपर्ने बताएकी छन् । ‘आवश्यकताको आधारमा तालिम दिन्छौं स्थानीय तहले सिफारिस गर्ने र बजेटको कार्यन्वय समेत गर्ने गरि मन्त्रालय लागि परिरहेको छ’उनले भनिन् ।

उनले दिगो बिकास लक्ष्य प्राप्तीका लागी सबैतहका सरकार र गैरसरकारी संस्था समेत लाग्नु पर्ने बताइन् । ‘अघिल्लो एकवर्ष हामीले केही जानेनौं , साच्चै थाहा थिए अब बुझ्दैछौं’ मन्त्री पुनले भनिन्‘मन्त्री र कर्मचारी समन्वय गर्दै व्यबहारमा काम गर्न प्रतिबद्ध छौं’ । दिगो विकास लक्ष्य सप्ताहव्यापी कार्यक्रम अन्तर सम्बाद कार्यक्रममा बोल्दै मन्त्री पुनले समाजमा नकरात्मक्ता मौलाएको भन्दै निराश नहुन आग्रह गरिन् ।

प्रदेशका ६ हजार नागरिकलाई सिपयुक्त बनाउने गरि योजना लागु गर्न लागेको बताउँदै उनले यसबाट गरिबीको अत्य हुने विश्वास व्यक्त गरिन् । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै गण्डकी प्रदेश निति तथा योजना आयोगका उपाध्यक्ष डा.गिरधारी शर्माले गैरसरकारी संस्थालाई स्थानिय सरकारले बनाउने योजनामा सक्रिय बन्दै सहयोगी भुमिका निर्वाह गर्न आग्रह गरे । उनले स्थानिय तहले अरुलाई प्रश्न गर्ने नभइ आफ्नो काममा प्रतिबद्ध रहनुपर्ने बताए ।

‘वडाले प्रश्न गर्ने होइन आफुले गर्ने कामको प्रतिबद्धता व्यक्त गर्ने हो’,उनले भने । रुपा गाउँपालिकाका अध्यक्ष नवरावज ओझाले दिगो बिकास लक्ष्यका सुचकहरुलाई छुने गरि योजना बनाउनेमा रुपा गाउँपालिका देशभरबाट १० गाउँपालिका भित्र रहेको बताए । उनले कार्यक्रम गर्नका लागी मात्रै गर्न नभइ आवश्यकताका आधारमा संचालन गरिनुपर्ने भनाइ राखे ।

राष्ट्रिय मानवअधिकार आयोगका गण्डकी प्रदेश निर्देशक दिपकजंग ध्वज कार्कीले सकरात्मक सुझाव र सोचइले मात्रै परिर्वतन गर्न सकिने बताए । शान्तिका लागि नागरिक समाजको सञ्जालका अध्यक्ष विष्णु प्रसाद बरालले निजी क्षेत्रलाई समेत सहभागी गराई कार्यक्रमहरु तर्जुमा गर्न आग्रह गरे । प्राध्यापक डा गेहेन्द्रश्वर कोइरालाले जनताका जिवनको संरचनात्मक परिर्वतनलाई दिगो बिकास लक्ष्यले सम्बोधन गरेकाले सरकारका योजनाहरु स्थानियकरण गरिनुपर्ने बताए ।

पोखरा महानगरपालिका वडा नं १३ अध्यक्ष दर्शन लामाले सरकारले गरेका कामका हिसाबमा दिगो बिकास लक्ष्य प्राप्ती सहज नभएको धारणा राखे । पोखरा महानगरपालिका वडा नं ९ रामराज लामिछानेले बनेका योजनाहरु समेत कार्यन्वयन नहुदाँ समस्या भएको बताए । मानवअधिकार एलाइन्सका रामचन्द्र पौडेलले १५ वर्षपछि युवा शक्तिको रुपमा तयार हुने हालका बालबालिकाहरु माथी लगानी आवश्यक रहेको भनाइ राखे ।

गैरसरकारी सरकारी संस्था महासंघ गण्डकी प्रदेश अध्यक्ष बिना सिलावलले गैरसरकारी संस्थाले पुलको भुमिका गरिरहेको भनाइ राखिन् ।‘सबै गैरसरकारी संस्थालाई एउटै बाकसमा राखेर गाली नगरौं हामी सरकारको साझेदार हौं प्रतिपक्ष होइनौं’,उनले भनिन् । कार्यक्रम गैरसरकारी संस्था महासंघ गण्डकी प्रदेश र दिगो बिकास मञ्च गण्डकी प्रदेशको आयोजना तथा सामाजिक बिकास मन्त्रालयको समन्वयमा भएको थियो ।