साझा अब विकल्प होइन, निर्विकल्प पार्टीः मिश्र

गोरखा ।

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले अबको चुनावमा आफ्नो पार्टी निर्विकल्प हुने बताएका छन् । ‘जसले मान्छे मा¥यो, जसले देशको दोहन ग¥यो, जसले जनताको जीवनस्तर माथि जान दिएन,’ उनले भने, ‘त्यस्ताहरुलाई मत आउने छैन, अबको चुनावमा साझा पार्टी विकल्प होइन, निर्विकल्प हो ।’

पार्टीलाई निर्विकल्प बनाउन आफूहरु दिनरात लाग्ने र त्यसमा जनताको साथ चाहिने मिश्रले बताए । देश १५÷२० वर्षमै रुपान्तरण गर्न सकिने विश्वास उनले व्यक्त गरे । ‘अहिलेको राजनीति परिवर्तन नगर्ने हो भने हामी मृत्यु शैड्ढयामा पुग्दा पनि यही हालत हुन्छ,’ संयोजक मिश्रले भने ।

मिश्र शुक्रबार साझा पार्टीको गोरखा जिल्ला संयोजक घोषणा सभालाई सम्बोधन गर्दै थिए । मुलुकको समृद्धिका लागि अहिलेको संविधान भत्काउन आवश्यक नरहेको विचार मिश्रले व्यक्त गरे । उनले भने, ‘असन्तुष्टि छ भने संशोधन गर्न सकिन्छ, संशोधन हुन सक्छ भन्ने व्यवस्था संविधानले नै गरेको छ ।’ उनले बारम्बार सडक आन्दोलन गरेर विकास र समृद्धिलाई पछाडि पार्न नहुने धारणा राखे । दुईतिहाईको शक्तिशाली सरकारले पनि प्रभावकारी काम गर्न नसकेको उनको भनाइ थियो ।

२०४६ सालयता सत्तामा पुगेका नेता, प्रशासक र उच्चपदस्थहरुको सम्पति आफ्नो पार्टी सत्तामा पुगेपछि छानबिन गर्ने उद्घोष मिश्रले दोहो¥याए । उनले कर्मचारीको ट्रेड युनियन खारेज गर्नुपर्नेमा पनि जोड दिए । मिश्रले राजा पृथ्वीनारायण शाह कतिपयको आँखामा साम्राज्यवादी देखिए पनि खासमा उनी राष्ट्र एकीकरणका नायकै भएको पनि बताएका थिए ।

पार्टी प्रवक्ता सूर्यराज आचार्यले अहिले भइरहेको राजनीतिलाई पुनःपरिभाषित गर्न चाहेको सुनाए । उनले भने, ‘अहिले भइरहेको राजनीति राजनीति होइन, नेताहरुले देश दोहन गर्ने उद्यम मात्रै हो । हामीले नयाँ पार्टीमात्रै खोलेका होइनौं, नयाँ राजनीतिक संस्कार बसाउन खोजेका हौं ।’

गण्डकी प्रदेश संयोजक महेश भण्डारीले समृद्धिको नतिजा जनताले तत्काल पाउनुपर्ने विचार राखे । ‘हामीले खोजेको समृद्धिको नतिजा तत्काल पाउनुपर्छ,’ उनले भने । गोरखाका गाउँमा पुग्न आज पनि ३ दिनसम्म पैदल हिँड्नुपर्ने बाध्यता रहनु बिडम्वना भएको उनको भनाइ थियो । भण्डारीले भारतीय संविधान निर्माता भीमराव अम्बेडकरको भनाइ उद्धृत गर्दै संविधान असल भएरमात्रै देश विकास हुन नसक्ने, शासक असल हुनुपर्ने बताए ।

केन्द्रीय सदस्य सुशीला केसीले ठुल्ठूला पार्टीका प्रतिज्ञा र जनताको भोगाइमा तालमेल नरहेको सुनाइन् । कास्की संयोजक अर्जुन खनालले विप्लव समूहलाई नभई भ्रष्टाचारीमाथि प्रतिबन्ध लगाउनुपर्ने खाँचो औंल्याए । उनले भने, ‘आज देश समृद्ध नभएको कमजोर अर्थतन्त्र भएर होइन, देशको ठेक्का लिएकाहरु नै भ्रष्ट भएर हो ।’

कार्यक्रममा नवलपुर संयोजक हरिप्रसाद गौतम, गोरखा संयोजक किशोर रेग्मी, प्रदेश सदस्य अमृत पुडासैनी र पूर्वसचिव शीतलबाबु रेग्मीसमेतले बोलेका थिए ।

साझा पार्टीले घोषणा ग¥यो गोरखा जिल्ला संयोजक


साझा पार्टीले गोरखा जिल्ला संयोजक घोषणा गरेको छ । उक्त पार्टीको गण्डकी प्रदेश संयोजक महेश भण्डारीले किशोर रेग्मीलाई गोरखा संयोजक घोषणा गरे । शुक्रबार गोरखाम आयोजित कार्यक्रममा साझा पार्टी संयोजक रवीन्द्र मिश्र र गण्डकी संयोजक भण्डारीले रेग्मीलाई माटोको टीका लगाई पार्टीको जिम्मेवारी सुम्पिए । रेग्मीले लामो समय विचार गरेर साझामा प्रवेश गरेको सुनाए । ‘मैले जुन फलफूल खान हातमा राखेको थिएँ, त्यो सडेको छ भन्ने लाग्यो,’ उनले भने, ‘त्यसैले साझामा प्रवेश गरें ।’