पोउवा संघद्धारा ६५ औँ अधिवेशनको सन्दर्भमा मानव सेवा आश्रमलाई दराज सहयोग

पोखरा ।

पोखरा उद्योग वाणिज्य संघले आफ्नो ६५ आँै अधिवेशनको सन्दर्भमा पोखराको बिरौटामा रहेको मानव सेवा आश्रमलाई पाँचवटा स्टिल दराज प्रदान गरेको छ । आश्रममा रहेका आश्रितहरुको कपडा व्यवस्थित तरिकाले राख्ने प्रयोजनका निम्ति करिब ४० हजार बराबरका दराज प्रदान गरिएको हो । संघकी उपमहासचिव चिनु गुरुङको समन्यमा ती सामान हन्तान्तरण गरिएको हो ।

संघका महासचिव अर्जुन पोखरेल,उपमहासचिव चिनु गुरुङसहित संघका कार्यसमितिका सदस्य ऋषिराम भण्डारी,रामेश्वर अधिकारी,चिन्तामणि बास्तोला, तारानाथ ढुंगाना,संघका कार्यकारी निर्देशक टोपबहादुर थापा, संघअन्तर्गतको बालश्रम न्यूनिकरण कार्यक्रमका कार्यक्रम संयोजक सरिता ताम्राकार, प्रिति पाण्डेलगायतले आश्रमका जिल्ला संयोजक राजन सापकोटालाई ती सामान हस्तान्तरण गरेका हुन् ।

दराज हस्तान्तरण कार्यक्रमका संक्षिप्त मन्तव्य दिँदै संघका महासचिव अर्जुन पोखरेलले मानवीय सेवाको लागि संघले यो काम गरेको बताए । मानव सेवा आश्रमले गरेका कामहरु सह्रानीय रहेको बताउँदै उनले आश्रमलाई राज्यका निकायहरुबाट पनि सहयोग गर्नुपर्ने धारणा राखे । उनले मानवीय सेवामा क्रियाशिल संस्थालाई आवश्यक पर्ने सहयोग गर्न निजी क्षेत्रसँग आग्रह पनि गरे । संघको ६५ औँ वार्षिक अधिवेशन यही असोज ४ गते संघको सचिवालयमा आयोजना हुँदै गरेको संघका केदार कोइरालाले जानकारी दिए ।

मानव सेवा आश्रममा अहिले ९६ जना आश्रितहरु रहेका छन् । त्यहाँ रहेका आश्रितको लागि दैनिक ४५ हजार रुपैयाँ खर्च लाग्छ । संस्थाले सडकमा रहेका र आफन्त नभएकाहरुलाई आश्रममा ल्याएर सेवा दिँदै आएको छ । त्यहाँ रहेकामध्ये अधिकांश मानशिक रोगले ग्रसित रहेको आश्रमका संयोजक राजन सापकोटाले बताए ।

सौन्दर्य व्यवसायमा समेत संलग्न संघकी उपमहासचिव चिनु गुरुङ मानव सेवा आश्रमसँग लामो समयदेखि जोडिएकी छन् । उनी आवद्ध लायन्स क्लव अफ पोखरा ब्युटी सिटीले त्यहाँ आवद्ध हरेक सदस्यहरुको जन्मदिनलगायतका शुभ कार्यमा सहयोग दिँदै आएको छ । चिनु स्वयंले पनि त्यहाँका आवश्यता हेरेर पटक–पटक सहयोग गर्दै आएकी छन् । उनले मानवीय सेवामा खटिएको आश्रमलाई आफ्नो फजुल खर्च घटाएर सहयोग गर्न पनि सर्वसाधारणसँग अनुरोध गरिन् ।