कास्कीमा काँग्रेसको जागरण तीव्र

पोखरा, ३० भदौ ।

नेपाली काँग्रेसको जागरण अभियान अन्तर्गत कास्कीमा दोस्रो चरणका कार्यक्रम तीव्र पारिएको छ । कास्कीका ३ वटा निर्वाचन क्षेत्रका प्रत्यक वडामा कार्यक्रम सञ्चालन भैरहेको जिल्ला सदस्य एवं प्रचार संयोजक नवीन सिग्देलले जानकारी दिए ।

उनका अनुुसार प्रदेश समितिले कार्यक्रम तय गरी वडावडामा कार्यक्रम सञ्चालन गरेको हो । पोखरा २९ मा आयोजित कार्यक्रममा केन्द्रीय प्रतिनिधि ऋषिकेश तिवारीले जनताको विश्वास काँग्रेसमा नै रहेको बताए । ‘जनताले हामीलाई नै विश्वास गरेका छन्’ उनले भने, ‘जनचाहाना पूरा गर्ने दायित्व हाम्रै काँधमा छ।’

पूर्वमन्त्री यज्ञबहादुर थापाले राजनीतिमा हार जित स्वभाविकै भएको भन्दै कसैको पनि सधै हार र सधै जित नहुने बताए । त्यस अवसरमा महिला नेतृ कोपिला रानाभाट, काँग्रेस क्षेत्र नं १ कास्कीका सभापति बिर्जमान गुरुङ, प्रजातन्त्र सेनानी भोजराज भण्डारी, जिल्ला सदस्य रामबाबु भण्डारीले बोलेका थिए ।

नेपाली काँग्रेस वडा कार्यसमिति पोखरा २९ का सभापति दीपकमणि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति उदय बस्नेतले स्वागत र क्रियाशील सदस्य पदम गुरुङले सञ्चालन थिए । त्यस्तै, रुपा गाउँपालिका ७ मा पनि जागरणसभा गरिएको छ ।