कास्की २ मा बामदेव र विद्याको चर्चा

पोखरा ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीलाई कास्की क्षेत्र नं. २ को उपनिर्वाचन प्रतिष्ठाको विषय बन्दैछ । यसअघि ३ पटकसम्म लोकप्रिय मत ल्याएर विजयी बन्नुभएका दिवगंत रविन्द्र अधिकारीको क्षेत्र भएकाले नेकपालाई उक्त क्षेत्र प्रतिष्ठाको विषय बन्ने निश्चित छ ।

यसअघि सचिवालय सदस्य बामदेव गौतमलाई उठाउने तयारी गरेपनि गौतमको पक्षमा पार्टीकै कार्यकर्ता पनि नखुलेपछि गौतमको विकल्प खोज्नुपर्ने भएको छ । तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको फागुन १५ गते ताम्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो । अधिकारीको निधनपछि रिक्त भएको सो निर्वाचन क्षेत्रमा मंसिर १४मा उपचुनाव हुँदैछ ।

पोखरा महानगरपालिकाको ११ वटा वडा उक्त निर्वाचन क्षेत्रमा पर्दछन् । नेकपाले संगठन विभागका प्रमुखलाई प्रस्ताव गरिएपनि गौतमले विद्या भट्टराईलाई उम्मेद्वार बनाउनुपर्ने बताउनुभएको थियो ।

गौतमले प्रतिनिधिसभामा जान लालच देखाएको भन्दै यसअघि पनि चौतर्फी आलोचना हुँदै आएको छ । सोमबार बसेको नेकपाको सचिवालय बैठकमा अधिंकाश नेताहरुले दिवंगत अधिकारीकी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाउनुपर्नेमा जोड दिएको श्रोतले बताएको छ ।

यद्यपि नेकपाले आधिकारीक रुपमा कुनै निर्णय भने सार्वजनिक गरेको छैन् । तसर्थ २०७४ को दिंवगत अधिकारीले २७ हजार २ सय ७ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी काङ्ग्रेसका देवराज चालिसेको १८ हजार ६ सय ६१ मत आएको थियो ।

नेकपालाई कास्की क्षेत्र नं. २ मा मात्र नभई भक्तपुर, दाङ र बाग्लुङमा हुने प्रदेशसभाको उपनिर्वाचनमा नेकपाकै उम्मेदवार विजयी बनेकाले पनि उपनिर्वाचन नेकपाका लागि परीक्षा सावित हुनेछ । सत्ता सञ्चालन गरिरहेको पार्टीलाई जनताले कस्तो मुल्याकंन गरिरहेका छन् भन्ने संकेत समेत यस उपनिर्वाचनले देखाउनेछ ।