पोखराका वडाध्यक्षको गुनासोःकर्मचारी भ्रष्टाचार र मेयरले राखेका मान्छे कमिशनमा चुर्लुम्म डुबेका छन्

पोखरा ।

पोखरा महानगरपालिकाका एक वडाध्यक्षले महानगरभित्र चरम भ्रष्टाचार र कमिशनको खेल हुने गरेको गुनासो गरेका छन् । पोखरा २५ का वडाध्यक्ष शोभाखर तिमिल्सिनाले वडाबाट जनप्रतिनिधिले सर्वसम्मत रुपमा महानगरमा पेश गरेका योजना समेत कमिशनको खेलमा बदलिएर आउने गरेको र योजना पार्न समेत कमिशन खुवाउनु पर्ने बाध्यता रहेको उनले सुनाए ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वडा कमिटि पोखरा २५ को शपथ ग्रहण कार्यक्रममा आज तिमिल्सिनाले वडाबाट छनोट भएका योजना रातो कितावमा नआउँदा यो त भएन मेयर साप भनेर भन्दा ‘मैले राखेको हुँ’ भनेर मेयरले जवाफ दिने गरेको बताउँदै उनले यस्तै भए जनप्रतिनिधि किन चाहिए भन्ने प्रश्न गरे ।

कार्यक्रममा वडाध्यक्ष तिमिल्सिनाले भने,‘छातीमा हात राखेर भन्छु महानगर भित्र प्रवेश गर्न मलाई चाँही मन छैन । महानगरका हरेक कर्मचारी भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् । मेयर सापले राखेका मान्छे अहिलेपनि कमिशनमा डुबेका छन् यो कुरा कसलाई गएर भन्ने?’

महानगरमा कम्युनिष्ट पार्टीको स्पष्ट बहुमत हुँदा समेत स्वाभिमानी वडाध्यक्षले उठाएका योजनाहरु क्यान्सिल गर्ने गरिएको र कमिशन खुवाउनेहरुका योजना समावेश गर्ने गरिएको आरोप तिमिल्सिनाको छ । महानगरमा भ्रष्टाचार नगर्ने र कमिशन नदिने वडाध्यक्षलाई दोस्रो दर्जाको व्यवहार गर्ने गरिएको गुनासो गर्दै तिमिल्सिनाले कहिलेकाँही आफूलाई राजीनामा दिउँ कि जस्तो लाग्ने गरेको समेत उल्लेख गरे ।

सपथ ग्रहण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य एवं कास्की जिल्ला सहइन्चार्ज सीता गिरीले पार्टीले सरकार सञ्चालन गर्ने भएकाले सरकारको काम प्रभावकारी बनाउन संयन्त्र गठन गरिने बताईन् । हजारौँ शहीद तथा वेपत्ता घाइतेहरुको त्याग र संघर्षका कारणलेनै कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार गठन भएकाले पाँच वर्षको अवधिमा जनताका चाहनालाई पूरा गरिने स्पष्ट पार्नुभयो ।

प्रदेश कमिटिका सदस्य एवं प्रदेश सांसद रामजी बरालले कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता लोभी पापी भए प्राप्त उपलब्धी समेत गुम्ने खतरा रहेको बताउँदै आचरणबाटनै कम्युनिष्टको व्यवहार गर्नुपर्ने बताए ।

पार्टीमा गुटबन्दीका कारणले कमजोर हुने भएकाले गुटको अन्त्य गर्नुपर्ने भनाई सांसद बरालको थियो । कार्यक्रमा प्रदेश सदस्य कृष्ण नेपाली, जिल्ला सदस्य शोभाखर भण्डारी, पूर्व पार्टी प्रमुख टिकाराम पौडेल लगायतले पार्टी र सरकारका काम प्रभावकारी बनाउँदै जनतासम्म जानुपर्ने बताएका थिए । कार्यक्रममा केन्द्रीय सदस्य गिरीले ४५ सदस्सीय वडा कमिटिको शपथ गराएकी थिइन् ।