पिसजोनमा डेङ्ग्यु सम्बन्धी विद्यार्थीलाई प्रशिक्षण

पोखरा ।

पोखरा ८ सिमलचौरमा रहेको पिसजोन एकेडेमीमा शुक्रबार डेङ्ग्यु सम्बन्धी एक दिने प्रशिक्षण दिइएको छ । पोखरा महानगरपालिका शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको सहजीकरणमा प्रशिक्षण दिइएको हो । स्वास्थ्य महाशाखाकी डा.मघुमाया तिमिल्सिना र स्टाफ नर्स विमला काफ्लेले कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरु र शिक्षकशिक्षिकहरु तथा कर्मचारीहरुलाई प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणमा डेङ्ग्यु बोक्ने लामखुट्टे, यसको अण्डा, प्युपा, लार्भा र वयस्क अवस्थाको जीवनचक्र १० दिनमा पूरा हुने जानकारी दिएको थियो । यस लामखुट्टेको लार्भा पानीको सतहमा ४५ डिग्री बनाएर तैरने डा. तिमिल्सनाले बताइन् । डा .तिमिल्सिनाले सो अवसरमा प्रतयक्ष डेङ्ग्युको लार्भा र प्युपालाई फुलदानीमा राखिएको सिसामार्फत सबैलाई जानकारी दिएकी थिइन् ।

सो अवसरमा विद्यार्थीहरुलाई आफ्नो घर, छिमेक, टोल समुदायमा थोत्रा टायर, टिनका बट्टा, खुल्ला ड्रम, प्लाष्टिक सिसाका बोटल, थोरै मात्र पानी रहन सक्ने कोकका बोटलका विर्का आदिमा रहन र फैलनसक्ने भन्दै प्रशिक्षण गराइएको थियो । मल्टिमिडिया प्रोजेक्टरको माध्यमबाट श्रव्य दृश्य सामग्रीको प्रयोग गरी डेङ्ग्यु सङ्क्रमणको प्रशिक्षण गराइएको कार्यक्रममा विद्यार्थीहरुलाई सरसफाइ र घर वरपरको सम्भावित सङ्क्रमण हुन सक्ने जोखिमबारे सचेतीकरण गराइएको थियो ।

ती भाँडा र बोटलहरुमा पानी जम्न दिन नहुने, सफा पानी भाँडाहरुमा लामो समय राख्न नहुने , घाम नलाग्ने ठाउँमा राखिएका पानीका भाँडाहरुमा यस्तो लामखुट्टेले फुल पार्ने हुँदा सचेत हुनुपर्ने जानकारी विद्यार्थीहरुलाई दिइएको थियो । ‘हामीले यस्ता सचेतनाका कार्यक्रमहरुलाई महानगरभित्र तीव्र्र रुपमा अघि बढाएका छौँ ।’डा. मधुमायाले भनिन् । सचेत भइएन भने जोखिममा परिन सक्छ । उनको तर्क थियो । पोखरा भित्रमात्र १२ सय भन्दा बढी बिरामीमा डेङ्ग्यु सङ्क्रमणका बिरामी भेटिएको उनले जानकारी दिइन् ।

पोखरा महानगरभित्रका २३ वटा कलेज र सरकारी विद्यालयहरुमा प्रशिक्षण र सचेतीकरण गरिएको जानकारी दिँदै डा. तिमिल्सिनाले आफूहरुले प्रशिक्षण दिएको पहिलो निजी विद्यालय पिसजोन एकेडेमी भएको बताइन् । सो अवसरमा विद्यालयका संस्थापक तथा प्रमुख व्यवस्थापक योगेन्द्र शर्मा दाहालले पोखरा महानगरपालिका शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको सहयोगमा विद्यालयभित्र प्रशिक्षण तथा जानकारीमूलक श्रव्यदृश्य सामग्रीमार्फत् सचेतीकरण गराएकामा धन्यवाद व्यक्त गरे । विद्यालयलाई आगामी दिनमा पनि यस्ता कार्यक्रम, स्वास्थ्यका बारेमा विद्यार्थीहरुलाई प्रशिक्षण निरन्तर गरिराख्न उनले आग्रह गरेको शिक्षक अमृत घिमिरेले जानकारी दिए ।