कास्की क्षेत्र नं १ का विभिन्न स्थानमा जनजागरणसभा

पोखरा ।

राष्ट्रिय जनजागरण अभियानको दोस्रो चरण अन्तर्गत नेपाली काँग्रेसले कास्की क्षेत्र नं १ का विभिन्न स्थानमा सभा गरेको छ । काँग्रेसले पोखरा १२, पोखरा ३०, रुपा गाउँपालिका १ र २ मा जनजागरणसभा गरेको जिल्ला सदस्य एवं प्रचार संयोजक नवीन सिग्देलले जानकारी दिए ।

सभामा बोल्ने वत्ताले काँग्रेसले मात्रै मुलुकको हित गर्ने भन्दै वर्तमान सरकार आफ्नै कारण असफल बन्दै गइरहेको बताएका थिए । पोखरा १२ मा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले सरकारले गर्न नहुने काम मात्रै गरिरहेको बताए । काँग्रेस अपराजय शक्ति भएको भन्दै उनले काँग्रेसलाई जगाउनुपर्ने समय आएको उल्लेख गरे ।

गण्डकी प्रदेशसभा सदस्य सरीता गुरुङले काँग्रेसभित्रको मेलमिलाप र एकताले सबै शक्तिलाई पराजय गर्ने उल्लेख गरिन् । कार्यक्रममा काँग्रेस नेता यज्ञबहादुर थापा, क्षेत्र नं १(ख) सभापति कृष्ण कोइराला, काँग्रेस नेतृ सरस्वती गुरुङ, महाधिवेशन प्रतिनिधि तिलक रानाभाट, पोखरा महानगर सभापति बजिरमान श्रेष्ठ र जिल्ला सदस्य नवीन सिग्देलले बोलेका थिए ।

त्यस अवसरमा नेपाली काँग्रेस क्षेत्र नं १(ख) कास्कीको सभापति बनेकोमा कृष्ण कोइरालालाई सम्मान सहित बधाई ज्ञापन गरिएको थियो । नेपाली काँग्रेस पोखरा वडा इकाइ ११ का सभापति राधेश्याम कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष रामबहादुर कार्कीले स्वागत र सचिव रामजी बास्तोलाले सञ्चालन गरेका थिए ।

पोखरा ३० खुदी तथा रुपा गाउँपालिका १ र २ मा आयोजित छुट्टाछुट्टै सभा केन्द्रीय प्रतिनिधि ऋषिकेश तिवारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । भेलामा काँग्रेस केन्द्रीय सदस्य जीवन परियार, क्षेत्र नं १ (क) कास्कीका सभापति शरदराज सुवेदी, नेता प्रकाशमोहन खनाल, कास्की जिल्ला सदस्य नारायणकुमार श्रेष्ठ, महिला संघकी केन्द्रीय सदस्य तारा अधिकारी, महिला नेतृ गिमाया गुरुङ, पोखरा ३० का सचिव ध्रुव न्यौपाने, रुपा १ का सभापति बुद्विबहादुर खड्का, उपसभापति जीवनाथ सुवेदी र सचिव रामबहादुर गोदारले बोलेका थिए ।