पोखरामा सेयरसम्बन्धि सचेतना कार्यक्रम

पोखरा ।

धितोपत्र ( सेयर ) बजारमा गरिने लगानीमा नाफा र घाटा दुबैको सम्भावना भएकोले बुझेर मात्रै लगानी गर्न विज्ञहरुले सुझाएका छन् । उनीहरुले नेपालीहरुमा साधारण सेयरमा लगानी गर्ने बानी बढी भए पनि त्यो सेयरमा समेत जोखिम बढी हुने जनाएका छन् ।

धितोपत्र बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड र पोखरा उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा सोमबार पोखरामा आयोजना भएको पूँजी बजारसम्बन्धि जनचेतनामूलक कार्यक्रममा बोल्दै बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले पूँजी बजारमा हुने उतार–चढावप्रति सचेत रहन लगानीकर्ताहरुलाई आग्रह गरे । धितोपत्र बोर्डले लगानीको लागि प्रोत्साहन, वातवरण निर्माण र नियमन गर्ने भए पनि लगानीको घाटामा हिस्सेदारी नगर्ने प्रष्ट पारे । उनले नेपालको पूँजी बजार अझै सानो अवस्थामा रहेको स्वीकार्दै सरकारले लिएको विकास लक्ष्य प्राप्तिको लागि आवश्यक पर्ने वार्षिक २० खर्ब पूँजी निर्माणको लागि यो बजार अझ ठूलो बनाउनु पर्ने तर्क गरे । धितोपत्र भनेको सेयर मात्रै नभएको प्रष्ट पार्दै उनले बैंक गाभिने प्रक्रियाले पूँजी बजार निर्माणमा सघाउने धारणा राखे ।

कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैनबहादु क्षेत्रीले पूँजी बजारमा दूरदराजका गाउँमा रहेको पैसा पनि आउने वातावरण बनाउनु पर्नेमा जोड दिए । उनले भने,‘अब आमाको थैलीमा भएको पैसा पनि लगानीको रुपमा बजारमा आउनुपर्छ ।’ लगानी मैत्री वातावरण भए मात्रै लगानी बढ्ने स्वीकार्दै उनले लगानीका अप्ठेराहरु फुकाउन आफू तयार भएको बताए ।

पोखरा उद्योग वाणिज्य संघ तथा कार्यक्रमका अध्यक्ष दामु अधिकारीले पूँजी बजारबारेको सचेतता कार्यक्रमलाई गाउँसम्म पु¥याउनुपर्ने धारणा राखे । उनले नेपालको निजी क्षेत्रले अझै पनि पूँजी अभावको सामना गरिरहेको बताउँदै बैंक तथा वित्तीय संस्थाहरुले चर्को ब्याज लिँदा व्यवसायीहरु झन समस्यामा परेको बताए । आफूले संचालन गरेको व्यवसाय अर्को पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिँदै उनले भने,‘अहिलेकै अवस्थामा के हामी हाम्रो व्यवसाय अर्को पुस्तालाई हस्तान्तरण गर्न सक्छौँ त , यसको लागि पनि पुँजी बजारको सहायता लिनुपर्छ ।’

कार्यक्रममा बोल्दै नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौडेलले नेपाल धितोपत्र बोर्डमा आवद्ध २ सय कम्पनीहरुले २ खर्ब ८० अर्बको पूँजी निर्माण गरेको जानकारी दिँदै यसको दायरा अझ बढ्नुपर्नेमा जोड दिए । सेयर बजारआवद्धमध्ये ८० प्रतिशत बैंक तथा वित्तीय संस्थाहरु नै रहेको र अब सेवामूलक व्यवसायहरुलाई पनि आवद्ध गराउनको लागि विशेष सहुलियतसहितको कार्यक्रम ल्याइएको उनले बताए । नेपालका ७७ जिल्लामै सेयर खरिद गर्न सकिने व्यवस्था भएको जानकारी दिँदै उनले पोखरामा ७ वटा धितोपत्र दलाल, २२ वटा निक्षेप सदस्य र ४८ ठाउँबाट सेवा दिइएको बताए ।

कार्यक्रममा धितोपत्र बजारको परिचयात्मक तथा आधारभूत पक्षहरुबारे कार्यपत्र प्रस्तुत गर्दै बोर्डका निर्देशक नारायणप्रसाद शर्माले जनताको बीचमा रहेको सानोसानो पूँजी संकलन गरी उत्पादनशील क्षेत्रमा लगाउनु नै बोर्डको उदेश्य भएको बताए । उनले प्राथमिक बजार र दोस्रो बजारमार्फत सेयर खरिद गर्न सकिने जानकारी दिँदै कम्पनीको वित्तीय अवस्था,मूल्य र आम्दानीको अनुपात, खराब कर्जा कम भएका तथा मूल्य आम्दानी अनुपात हेरेर लगानी गर्न लगानीकर्तालाई आह्वान गरे । लाभांश घोषणा, पूँजी वृद्धिको निर्णय,कम्पनी गाभिने अवस्था,संस्थागत भ्रष्टाचार वा कम्पनीको प्रमुख व्यक्ति फेरिँदा पनि सेयर बजारमा उतार चढाव आउने जानकारी दिँदै उनले हल्लाको पछि नलाग्न र वास्तविकता बुझेर लगानी गर्न पनि सुझाए । नेप्से परिसूचकमा विभिन्न कारणले घटबढ हुने भए पनि लगानीकर्ताहरु सेयर बजारबारे जानकार भए त्यसले खासै असर नगर्ने उनको तर्क थियो ।

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलले सेयर बजारप्रति पछिल्लो समयमा देखिएको आकर्षणले पूँजी निर्माणमा सहयोग पु¥याएको धारणा राखे । उनले पूँजी बजारबारे सर्वसाधारणलाई जानकारी दिन सके लगानी अझ बढ्ने तर्क पनि गरे । अग्रज व्यवसायी अम्बर तुलाचनले पूँजी बजारमा हल्लैहल्लामा हैन कि बुझेर लगानी गर्नु पर्ने बताए । उनले धितोपत्र बोर्डले पछिल्लो समयमा लगानी गर्न सजिलो बनाएको भनिए पनि व्यवहारिक कार्यान्वयमा नआएको गुनासो गरे । कार्यक्रममा पत्रकार सुरेश रानाभाट, व्यवसायीहरु अशोक भट्टचन, कमल न्यौपाने,बद्रि घिमिरे लगायतले बैंकहरु नाफामुखी भएको, दोस्रो बजारबाट किनिएको सेयरको बेस रेट राख्दा लगानीकर्तालाई समस्या भएको,अनलाइन भने पनि चेक लिन र दिन कार्यालयमै पुग्दा झन्झटिलो भएको लगायतका गुनासाहरु राखेका थिए ।