तीन पुस्ताको सकृयतामा जोगाइँदै बालन संस्कृति

पोखरा ।

झट्ट सुन्दा अचम्म लाग्छ, आधुनिकताले गाँजेको समाजमा हजुरबुवादेखि नाति यतिखेर प्राचीन संस्कृतिको रक्षार्थ एकाकार भएका छन् । आधुनिकतासँगै दोहोरी, डिस्को आदिमा युवामोह बढ्दै गएका कारण प्राचीन संस्कृति ओझेलमा पर्दै गएका बेला तनहुको शुक्ला गण्डकी नगरपालिका वडा नं १ सेराबेँसीमा भने हजुरबुवादेखि नातिसम्मको तीन पुस्ता यतिखेर कृष्णबालन जोगाउन सकृय छ ।

आजभन्दा झण्डै साढे पाँच दशक अघि विसं २०१२ पूर्ब नै सेराबेँसीमा प्रचलित संस्कृतिलाई निरन्तरता दिदै यस वर्ष पनि कृष्ण जन्माष्टमीका अवसर पारी ठाउँ ठाउँमा कृष्णबालन प्रदर्शन गरिएको सेराबँेसी सांस्कृतिक समूहका पूर्व सचिव ठाकुरप्रसाद खनालले जानकारी दिए । यस वर्ष शुक्ला गण्डकी नगरपालिका वडा नं १ को सेराबेँसी र पोखरा महानगरपालिका वडा नं ३२ को मालेपाटनमा कृष्णबालन देखाइएको उनले बताए ।

सेराबेँसीमा प्राचीन कालदेखि नै कृष्णबालन देखाउँदै आइएको अवस्थामा यसको गरिमा र महत्वलाई बचाउँने प्रयास थालिएको खनालले बताए । बालनमा अभिनय गर्दै आएका ज्येष्ठ नागरिक अशक्त बन्नुु, युवाहरू वैदेशिक रोजगारीको खोजीमा जानु, महिला कलाकारको विवाह हुनु लगायतका कारण कलाकार संरक्षण गर्न चुनौतीपूर्ण र आर्थिक रुपमा बोझिलो बनेको छ ।

देवीदेवताको गुणगानमा केन्द्रित बालन सृष्टिकालदेखि भगवानका लीला र अवतारको वर्णनमा आधारित छ । गायनसँगै नृत्यसमेत प्रस्तुत गरिने बालन गीता, महाभारत, रामचरित्र, कृष्णचरित्र र भगवानका १० अवतारलाई लिएर प्रस्तुत गरिन्छ ।

सेराबेँसी क्षेत्रको बालन समूहले यस अघि देवघाट, पोखराको विन्दवासिनी, लामेआहालस्थित राधाकृष्ण मन्दिर, काठमाडौँको पशुपतिनाथ, दमौली तथा लेखनाथ महोत्सवलगायतका विभिन्न स्थानमा कृष्णबालन प्रस्तुत गरिसकेको छ ।

नेपाली समाजका प्राचीन संस्कार र संस्कृति हाम्रा अमूल्य सम्पत्ति भएको बताउने सेराबेँसी बालन समूहका कोषाध्यक्ष मोहनप्रसाद पन्थीले पछिल्ला समयमा यसको जगेर्नामा युवा सकृयता बढ्दै गएको बताए ।

प्राचीन संस्कार र संस्कृतिलाई नजोगाउने हो भने यी लोप हुँदै जाने र यसबारे पछिल्ला पुस्ता बेखबर जस्तै बन्ने उल्लेख गर्दै ७० वर्षीय पन्थीले यसको जगेर्नामा सरकारले पनि चासो दिनुपर्ने धारणा राखे । प्राचीन संस्कृति हाम्रो पहिचान भएको हुँदा यस तर्फ सबैको चासो अपरिहार्य भएको पनथ्किो भनाइ छ ।