पोउवा संघमा आवास निर्माणको लागतबारे छलफल

पोखरा ।

निर्माण सामाग्रीको मूल्य निर्धारण र नियन्त्रण,वित्तीय संस्थाबाट प्रदान गरिने ब्याज दरमा स्थिरता तथा निर्माण क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगले मात्र आवासीय निर्माण कार्य सस्तो हुने एक छलफल कार्यक्रमको निष्कर्ष छ ।

विश्व बैंकसम्वद्ध अन्तर्राष्ट्रिय वित्त निगम ( आइएफसी) एफोर्टेवल हाउजिङ इन्ष्टिच्यूट –एएचआई) र मियामिटो इण्टरनेसनल नेपालका प्रतिनिधिहरुसँगको आइतबार भएको छलफलमा पोखरा उद्योग वाणिज्य संघसवद्ध व्यवसायीहरुले सस्तो आवास निर्माणको लागि सरकारले नै सहजिकरण गर्नुपर्नेमा जोड समेत दिए ।

पोखरा उद्योग वाणिज्य संघसँगको सहकार्यमा कसरी सस्तोमा घर बनाउन सकिन्छ र आवासीय भवन निर्माणको नेपाली बजारबारे जानकारी लिन आएको टोलीलाई स्वागतगर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले बैंक व्याजको स्थिरता, निर्माणमा निश्चित मापडण्ड र निर्माण सामाग्रीको सहज उपलब्धताले मात्रै सस्तोमा निर्माण कार्य गर्न सकिने बताए । उनले नेपालमा बस्ती विकासका लागि बनेका ऐन कानून कार्यान्वयन नहुँदा समस्या परेको धारणा पनि राखे ।

संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेले मान्छेको सपना भनेकै घर भएको उल्लेखगर्दै कर्मचारीहरुलाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराएर घर बनाउने वातावरण निर्माण गरे भ्रष्टाचार पनि घट्ने तर्क गरे । संघका उद्योग उपाध्यक्ष विन्दु कोइराला सुवेदीले घविहीनहरुलाई व्यवस्थित आवास निर्माण गरी स्थानान्तरण गर्न सके सुुकुम्बासी समस्या समेत समाधान हुने धारणा राखिन् । कार्यक्रममा बोल्दै संघका महासचिव अर्जुन पोखरेलले निर्माण क्षेत्रलाई सरकारले अझै पनि उद्योगको रुपमा नहेरेकोले समस्या उत्पन्न भएको बताए । नेपाल निमार्ण व्यवसायी संघ कास्कीका अध्यक्ष सुरेश श्रेष्ठले सीमित बजेटमा हुने निर्माण कार्यमा गुणस्तरीय सामान प्रयोग गर्न नसकिने बताउँदै त्यसको दोष भने निर्माण व्यवसायीले भोग्नु परेको गुनासो गरे । गिट्टी, बालुवा लगायतका निर्माण सामाग्री सस्तो मूल्यमा पाउने बेला ठेक्का आह्वान गरिने र महंगो मूल्य तिर्ने बेला बल्ल निर्माण थाल्नु पर्ने बाध्यतामा यहाँका निर्माण व्यवसायीहरु रहेको उनको भनाई थियो ।

निर्माण व्यवसायी समिति कास्कीका नारायण गुरुङले पोखरामा व्यक्तिगत घर बनाउँदा घरधनीकै आग्रह र डिजाइन अनुसार काम हुने भएकोले लगानी पनि त्यसैमा निर्भर हुने बताए । नेपाल निमार्ण व्यवसायी महासंघ कास्कीका सचिव सुवर्ण श्रेष्ठले पोखराभन्दा बाहिर गएर घर बनाउने सोचको विकास हुन सके बस्ती बिस्तार र लागत पनि कम हुने धारणा राखे । घर बनाउनभन्दा जग्गाको भाउ महंगो भएको बताउँदै उनले बनाउँदा प्रयोग हुने सामानको आधारमा नै घर सस्तो वा महंगो हुने बताए ।

गण्डकी टायल उद्योगका फणिन्द्र शर्माले पोखरामा बर्षाको समयमा गिट्टी बालुवा संकलन बन्द गर्दा समस्या परेको जनाउँदे ठाउँ हेरेर निर्माण सामाग्रीको प्रयोग गर्ने गरी परियोजनाको लागत मूल्याङ्कन गरिनुपर्नेमा जोड दिए । कार्यक्रमा एएफसीका ओम भण्डारीले नेपालमा आवास निर्माणमा प्रयोग हुने सामानहरुको मूल्य, बजारको अवस्था र लागतबारे जिज्ञासा राखेका थिए ।