नेपाल प्रहरी दक्षिण एशियामा नै अब्बलः प्रहरी महानिरीक्षक खनाल

पोखरा ।

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी अपराध अनुसन्धान र नियन्त्रणका लागि दक्षिण एसियामा नै अब्बल रहेको बताउनुभएको छ ।

उहाँले देशभित्र व्याप्त विकृती विसंगतिको न्यूनिकरण गरी दण्डहिनताको अन्त्य गर्दै नेपाल प्रहरी संगठनले आफूलाई दक्षिण एसिया कै अब्बल प्रहरी संगठनका रुपमा उभ्याउन सफल भएको बताउनुभयो । संघीय प्रहरी इकाई कार्यालय पोखराको नव(निर्मित प्रहरी भवनको एक कार्यक्रमका बिच उद्घाटन कार्यक्रममा उहाँले यस्तो दावी गर्नुभएको हो ।

साथै नागरिक र प्रहरी बिचको समन्वयात्मक भूमिकालाई थप रचनात्मक एवं प्रभावकारी बनाउन अंगिकार गरिएको समुदायप्रहरी साझेदारी अभियान चलिरहेको उहाँको भनाई छ । उहाँका अनुसार अभियान अन्तर्गत हाल देश भरी नै बालबालिका देखी अभिभावकसम्म सबैलाई समेट्ने गरी विभिन्न सचेतनामुलक कार्यक्रमहरु भईरहेको छ ।

फरक प्रसंङमा बोल्दै प्रहरी महानिरीक्षक खनालले समाजको शान्ति सुरक्षामा खलल पुर्याउने जुनसुकै गतिविधि माथि भने प्रहरी आक्रमक रुपले प्रस्तुत भई विवेकपूर्ण कानूनी कठोरताको नीति अपनाईने उल्लेख गर्नुभयो । प्रहरी कार्यालयहरुलाई आम नागरिकको आस्था र भरोसाको केन्द्रका रुपमा स्थापित गर्न प्रहरी हरदम तत्पर रहेको महानिरीक्षक खनालको भनाई थियो ।

साथै उहाँले पोखराको लेकसाइडलाई २४सै घण्टा खुल्ला राख्नका लागि उक्त क्षेत्रका व्यवसायीहरुवीच समझदारी कायम हुनुपर्ने बताउनुभएको छ । प्रहरीले मात्र शान्ति सुरक्षा कायम गर्ने नभई समुदायको सहयोगले मात्र शान्ति सुरक्षा र अमनचयन कायम हुन सक्ने प्रहरी महानिरीक्षक खनालको धारणा थियो । राष्ट्रिय पुननिर्माण प्राधिकरण कोषको सहयोगमा निर्माण सम्पन्न भएको उक्त प्रहरी भवनको संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शिलालेख अनावरण साथै मुख्य प्रवेश द्वारमा रिवन काटी उक्त भवनको उद्घापटन गर्नुभएको हो भने नयाँ निर्माण हुन लागेको प्रहरी ब्यारेक भवनको जगमा ईट्टा राखी शिलान्यास गर्नुभयो ।

कार्यक्रममा धन्यबाद मन्तव्य व्यक्त गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले प्रहरी महानिरीक्षकको संगठन प्रतिको भावना र मर्म अनुरुप नै निरन्तर संगठनको शुद्धिकरण, सुदृढिकरण र व्यवसायिक निष्ठायुक्त प्रहरी सेवा प्रवाहमा आफूहरु उन्मुख रहेको जानकारी दिनुभयो । कार्यक्रममा भवन सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गण्डकी प्रदेश प्रहरी कार्यालयका टिसिटी प्रमुख प्रहरी निरीक्षक चतुर्भुज बोहराले भौतिक पूर्वाधारहरुमा आत्मानिर्भर हुँदै जनस्तरमा समर्पित गुणस्तरीय सेवा दिने नेपाल प्रहरीको उद्देश्य अनुरुप भूकम्प प्रतिरोधात्मक मापदण्ड अनुसार उक्त भवनको निर्माण गरिएको बताउनुभयो ।

संघिय प्रहरी इकाई कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पुजा सिंहले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव, पत्रकार महासंघ कस्कीका अध्यक्ष, उद्योग वाणिज्य संघ कास्कीका अध्यक्ष लगायतले बोल्नुभएको थियो ।

पोखरा स्थित विभिन्न संघ संस्था, नागरिक समाज, भू.पु प्रहरी, नेपाल प्रहरी श्रीमती संघ, विभिन्न सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष तथा प्रतिनिधिहरु, उद्योगी, व्यवसायिहरु, पत्रकार लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो । सोही अवसरमा उक्त कार्यालयकै परिसर भित्र निर्माण हुन लागेको प्रहरी व्यारेक भवनको समेत शिलान्यास गरिएको छ ।