डेंगुमा नियन्त्रण प्रभावकारी बन्न सकेन

पोखरा ।

पोखरा महानगरपालिका वडा नं ८ डेंगु संक्रमण क्षेत्र हो । अघिल्लो वर्ष यही वडामा पर्ने शिवालय चोकबाट देखा परेको डेंगु यसवर्ष पनि सोही क्षेत्रमा डर लाग्दो रुपमा देखिएको हो । कास्कीमा भदौं १ गतेसम्म १ सय १ जना डेंगुका विरामी देखिएका छन् । स्वास्थ्य कार्यलय कास्कीका अनुसार भदौ १ गते मात्रै १६ जना डेंगुका विरामी पोखराका विभिन्न अस्पताल भर्ना भएका छन् ।

वडा नं ८ भित्र कवाड संकलन केन्द्रमा रहेका टायरसंगै स्थानियका घरमा रहेका पुराना भाडाहरुमा जम्मा भएको पानी नै डेंगु संक्रमणको प्रमुख कारकको देखिएको स्वास्थ्य कार्यलयका याम बराल बताउँछन् । सोमबार शान्तिका लागी नागरिक समाजको सञ्जाल , इन्सेक र आमा मिलन केन्द्रको आयोजना तथा स्वास्थ्य कार्यलय कास्कीको सहकार्यमा भएको डेंगु सचेतना कार्यक्रममा बोल्दै बरालले स्थानियले रोगको बारेमा थाहा पाएपनि त्यसबाट बच्न कुनै पनि सर्तकता नअपनाएको बताए ।

‘हामीले अनुगमन गर्दा वडा नं ८ मा गाडीको टायरमा जम्मा भएको पानी नै प्रमुख कारण हो,स्थानियहरु रोग बारे थाहा पाउँदा पाउँदै समेत गम्भीर नभएको देखियो’,उनले भने । तर स्थानियहरु भने महानगरपालिकाले नै वेबास्ता गरेकै कारण डेंगु सक्रमण बढेको बताउँछन् । महानगरले डेंगु लाग्नु अगावैं कार्यक्रम गर्ने त्यसलाई कम गराउन आवश्यक पहल नगरेको उनिहरुको भनाइ छ । आमा मिलन केन्द्रकी अध्यक्ष समेत रहेकी स्थानिय इन्दिरा पौडेलले पटकपटक प्रयास गर्दा पनि महानगरले चासो नदिएको बताउँछिन् ।

‘प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हामी संक्रमित बन्न पुगेका छौं, यो वडा निकैं संवेदनशिल देखिएको छ महानगर गम्भीर नबने आगामी वर्ष अझै यसको संक्रमण बढेर जाने निश्चित छ’,उनले भनिन् । उनले घर समाज बरिपरीका वातावरण सफा राख्न स्थानिय नै सजग हुनुपर्दछ भन्ने सबैले बुझ्नु पर्ने बताइन् । ‘हामी यस्ता कार्यक्रम गरेर सचेतना त फैलाइरहेकै छौं तर फोहर उठाउन महानगरको गाडी महिनामा मुस्किलले एकपटक आउँछ’,पौडेल भन्छिन्‘फोहरलाई व्यबस्थापन गर्न कठिन छ डेंगु रोक्न कवाडीखानाहरुलाई व्यबस्थापन पनि उत्तिकै जरुरी छ’ ।

इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले डेंगु संक्रमणलाई भयावह रुपमा फैलन नदिनका लागी आफुहरुले विभिन्न संस्थाहरुसंगको सहकार्यमा सचेतना मूलक कार्यक्रम संचालन गर्दै आइरहेको भनाइ राखे । शान्तिका लागी नागरिक समाजको सञ्जालका अध्यक्ष विष्णु वरालले सबै भन्दा पहिले स्थानिय नै सचेत बन्नु पर्ने बताए ।

‘तपाईहरु आफै सचेत बन्नु पर्यो घरमा रहेका खाली भाँडाहरुमा खुल्ला रुपमा सफा पानी पनि जम्मा हुन दिनु भएन,डेंगुबाट बच्ने उपायहरु सिकाइएको छ त्यसलाई आजैबाट अपनाउन थाले यसले ठूलो रुप लिन सक्दैन’ । उनले स्थानियहरुका समस्यालाई वडा कार्यलय र महानगरपालिका सम्म पुर्याउनका लागी समन्वयात्मक भुमिका खेल्न सञ्जाल तयार रहेको भनाइ राखे ।