पर्वतीय खेलकुद महासंघ नेपाल गण्डकी प्रदेश स्तरीय नेटवर्कको संयोजकमा विष्ट

पोखरा ।

पर्वतीय खेलकुद महासंघ नेपालले नेपाल भ्रमण वर्ष २०२० लाई प्रदेश स्तरीय रुपमा भव्यताका साथ सफल पार्न गण्डकी प्रदेश स्तरीय नेटवर्क गठन गरेको छ । गण्डकी प्रदेश सभा सदस्य माननीय ईन्द्रधारा विष्टको संयोजकत्वमा शाहसिक खेलकुदमा सहभागी जनाउने विभिन्न १६ सदस्यीय पर्वतीय खेलकुद महासंघ गण्डकी प्रदेश स्तरीय नेटवर्क गठन गरिएको हो ।

नेटवर्कको सदस्यहरुमा भु बहादुर गुरुङ (गल्फ), गोपी भट्टराई (विच स्पोर्टस), भरत राज शर्मा (वाटर स्पोर्टस), शिसिर सुवेदी (मोटर स्पोर्टस), शंकर भण्डारी (साइक्लिङ), योगेश भट्टराई (प्याराग्लाइडिङ), शंकर थकाली (आर्चरी), निम बहादुर मगर (र्याफटिङ तथा क्यानोइङ), केशव बहादुर थापा (साहारा क्लव), कर्मा गुरुङ (घोडचडी), गज बहादुर गुरुङ (एथलेटिक्स), रामचन्द्र कोइराला (स्केटवोर्डिङ), मनोज थापा (एडभेन्चर स्पोर्टस), युवराज गुरुङ (हाइ अल्टिच्युट) र प्रकाश वराल (ट्रायथोलन) रहेका छन ।

पर्वतीय खेलकुद महासंघ नेपालले नेपाल भ्रमण वर्ष २०२० लाई प्रदेशस्तरीय रुपमा भब्यताका साथ सफल पार्न प्रदेशस्तरीय मन्त्रालय, सरकारी निकाय, विभिन्न संघ संस्था तथा नेपाल भ्रमण वर्ष २०२०को प्रदेशस्तरीय समिती संग आवश्यक समन्वय तथा सहकार्य गरी शाहसिक तथा पर्यटकीय खेलकुद सम्बन्धी कार्यक्रमहरु गर्नेछन । जसअनुरुप २०२० लाई लक्षित गरी पोखरामा गण्डकी रन, हाइ अल्टिच्युड रक क्लाइम्बिङ टुर्नामेन्ट, अन्तराष्ट्रिय स्तरको परम्परागत आर्चरी फेस्टिभल, प्याराग्लाइडिङ टुर्नामेन्ट, पोखरा वाटर फेस्टिभल, गल्फ प्रतियोगिता, ट्रान्स हिमालय मोटर र्याली लगायतका कार्यक्रमहरु गरिनेछ ।

पर्वतीय खेलकुद महासंघ नेपाल गण्डकी प्रदेश स्तरीय नेटवर्कका संयोजक ईन्द्रधारा विष्टले गण्डकी प्रदेशमा शाहसिक खेलको गतिविधी संगै शाहसिक पर्यटकहरु गण्डकी प्रदेशमा भित्रयाउनका लागी आफ्नो नेटवर्कले केन्द्रसंग मिलेर अगाडी वढ्ने वताए । त्यस्तै पर्वतीय खेलकुद महासंघ नेपालका केन्द्रिय कोषाध्यक्ष मेघ राज पौडेलले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी महासंघले नेपालको सातवटै प्रदेशमा शाहसिक खेलकुदको गतिविधी सञ्चालन गर्नका लागी काम गर्ने वताए ।