वृद्धाश्रममा एमजे डान्स सेन्टरको सहयोग

पोखरा ।

एमजे डान्स सेन्टर पोखराले बाच्छिबुडुवास्थित वात्सायन वृद्धाश्रममा पुगेर वृद्धवृद्धाहरुसँग सहभोज गर्दै उनीहरुलाई कपडा वितरण गरेको छ ।

कुनै खास अवसर नभएपनि मनबाटै वृद्धवृद्धा बुवाआमासँग समय बिताउने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गरेको एमजे डान्स सेन्टरका संचालक देवराज राईले बताए । ‘वृद्धवृद्धाहरुसँग समय बिताउनु र उनीहरुसँग आर्शिबाद लिनु एउटा गज्जबको कुरा हो ।’ उनले भने–‘त्यसैले कुनै खास अवसर कुरिरहन नै मन लागेन । मनले भन्यो र हामी त्यहाँ गयौँ ।’

पोखरा वात्सायन वृद्धाश्रममा अहिले १९ जना वृद्धवृद्धाहरु छन् । वृद्धाश्रमको व्यवस्थापन र वृद्धवृद्धाहरुको खानपिन सहित बसोबासको व्यवस्था समितिले गर्दै आएको छ । ‘यस्तै मनकारी दाताहरुले मन फुकाउनुहुन्छ र त हामीले वृद्धवृद्धा बुवाआमाहरुलाई सजिलोसँग राख्न सकेका छौँ ।’ वृद्धाश्रम संचालक समितिका उपाध्यक्ष रेशम जिसीले भने–‘त्यसैले हामी उत्कृष्ट वृद्धाश्रमको रुपमा स्थापित पनि हुन सकेका छौँ ।’

सहभोजपछि एमजे डान्स सेन्टरले दिएको कोसेली ग्रहण गर्दै वृद्धवृद्धाहरुले उनीहरुलाई आर्शिबाद दिएका थिए । उनीहरुले आफूहरुलाई भेट्न पुनः आउन आग्रह समेत गरे ।