गण्डकी प्रदेश प्रमुखले दिए ट्होंटेको शुभकामना

पोखरा ।

गण्डकी प्रदेश प्रमुख बाबु राम कुँवरले गुरुङ समुदायको महान पर्व ट्होंटेको अवसरमा प्रदेशवासीलाई शुभकामना दिएका छन् । हरेक वर्ष साउन र चैतको अन्तिम मंगलबार मनाइने ट्होंटे पर्व गुरुङ समुदायले आज मंगलबार धुमधामका साथ मनाउँदैछन् ।

प्रदेश प्रमुख कुँवरले सोमबार शुभकामना सन्देश जारी गर्दै ट्होंटेजस्ता मौलिक पर्वले भातृत्व, अपनत्व आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न अझ बढी प्रेरणा र बल प्रदान गर्ने गरेको बताएका छन् ।

प्रदेश प्रमुख कुँवरको शुमकामना सन्देशमा बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक एवं भौगोलिक विविधता भएको नेपालमा विभिन्न जातजाति र समुदायले मनाउने यस्तै अनेकन मौलिक चाडबाडले धार्मिक, साँस्कृतिक, सामाजिक समभाव कायम गरि राष्ट्रिय एकतालाई मजबुत बनाउन योगदान दिएको जनाएका छन् ।

‘गुरुङ समुदायको महान पर्वका रुपमा खुशीयालीस्वरुप विशेष उत्साह र उमङ्गका साथ मनाउने ट्होंटेले छुट्टै मौलिक, परम्परा र साँस्कृतिक महत्व बोकेको छ’ प्रदेश प्रमुख कुँवरको शुभकामना सन्देशमा भनिएको छ,‘ट्होंटेले विविध धर्म र सँस्कृति मान्ने समस्त गण्डकी प्रदेशवासीहरुमा भातृत्व, अपनत्व आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न अझ बढी प्रेरणा र बल प्रदान गर्नेछ भन्ने विश्वासका साथ गण्डकी प्रदेशवासी सबैमा शुभकामना व्यक्त गर्दछु ।’