पोखरा भित्रिएका आलु खान अयोग्य, ५१ वोरा आलु नष्ट

पोखरा ।

भारतबाट पोखरामा विक्रीको लागि आयात गरिएको सेतो आलुमा विषादीको रुकाटर दर बढी भेटिएको छ । आयात गरिएको आलुमा विषादीको रुकावट दर बढी भेटिएपछि विक्रीको लागि राखिएको आलुलाई नष्ट गरिएको छ । गत साउन १७ गते आयात गरिएको आलुको विषादी परीक्षण गरिएको थियो । पोखरा–९ स्थित कृषि उपजब बजारस्थलमा रहेको द्रुत विश्लेषण प्रयोगशाला ईकाईमा जाँच गर्ने क्रममा खान योग्य नभएको पुष्टि भएको हो ।

‘सेतो आलु जाँच गर्दा विषादीको रुकावट दर ४७ प्रतिशत थियो ।’ बाली संरक्षण प्रयोगशाला कास्कीका बाली संरक्षण अधिकृत तथा विषादी जाँचकर्ता सञ्जीव बास्तोलाले भने–‘४५ प्रतिशत भन्दा बढी भए खानको लागि योग्य हुदैन् ।’ उनका अनुसार ३५ प्रतिशत भन्दा कम दर रहे खान मिल्छ । ४५ प्रतिशतसम्म रुकावट दर भएको अवस्थामा केही दिन पर्खेर खान सकिने उनले बताए । ‘हामीले रिपोर्ट पठाईसकेका छौं । उनले भने–‘बाँकी कारवाहीको गर्ने काम कृषि उपज बजार स्थलको हो ।’

उनका अनुसार पोखरा आएको तरकारी तथा फलफूलको कार्वामेट र अर्गानो फष्फेट प्रयोगशालामा जाँच गरिन्छ । अरु तरकारी र फलफूलमा खासै समस्या नभएको उनले सुनाए । नष्ट गरिएको आलुमा कुन बिषादी प्रयोग भएको भन्ने बारेमा यकिन जानकारी नभएको उनको भनाई थियो । ‘आलु जाँच गरिदाँ विषादीको रुकावट दर मात्रा हेर्यौं ।’ उनले भने–‘कुन विषादी प्रयोग गरिएको छ भन्ने पोखरामा पत्ता लगाउन सकिदैन् ।’नेपाल सरकारले भारतबाट आयातीत तरकारीजन्य बस्तुमा अत्याधिक विषादीको प्रयोग भएको भेटिएपछि आयातमा रोक लगाएको थियो । तर भारतीय विरोधपछि फेरी तरकारीजन्य बस्तु भारतबाट निर्वाह रुपमा आयात हुदैं आएको छ । दैनिकजसो ट्रकमा तरकारीजन्य बस्तु आयात हुने गरेको छ । पोखरा आउने तरकारी तथा फलफूलमा शून्य विषादी भएका कुनै पनि वस्तु छैनन् ।

पोखरामा आलु, प्याज र फलफूल पूरै भारतबाट आउँछ । अन्य तरकारीहरु गण्डकी प्रदेशका विभिन्न जिल्ला तथा सिजनअनुसार धादिङ, मकवानपुर, पाल्पा, चितवन र तराईका जिल्लाहरुबाट तरकारी भित्रिन्छ । २० प्रतिशत हाराहारीको तरकारी फलफूल भारतबाट मात्रै आयात हुने पोखराको पृथ्वीचोक शान्तिवनस्थित कृषि उपज बजार स्थलले जनाएको छ । कृषि उपज बजारस्थलमा दैनिकजसो भित्रिने तरकारीजन्य बस्तुको विषादी परीक्षण गरिने कृषि उपज बजार शान्तिवनकी निमित्त बजार ब्यवस्थापक रुपा दाहालले बताईन् । उनले बजारस्थलमा भित्रिएको सेतो आलु परीक्षण गर्दा विषादीको रुकावट दर बढी भेटिएपछि ५२ बोरा आलु नष्ट गरिएको सुनाईन् । ‘हामीले ५२ बोरा आलु नष्ट गर्यौं ।’ उनले भनिन ।

उनका अनुसार तरकारीजन्य बस्तुमा मिहिन तरीकाले हर्ने मेशिन नभएको भन्दै उनले दैनिकजसो परीक्षण गर्दा विषादीको मात्रा बढी भएका तरकारी तथा फलफूल नष्ट गरिने बताईन् । कृषि उपज बजार स्थलमा अहिले विगत तीन महिनादेखि विषादी जाँच हुदैं आएको छ । आयात गरिएको तरकारी तथा फलफूलको तथ्यांक राखिने समेत गरिएको छ । ‘विषादी बढी भेटिएको तरकारी बजारमा जादैन् ।’ उनको भनाई थियो । बिषादीयुक्त आलु आयात गर्ने ब्यापारीलाई बजार ब्यवस्थापन समितिले आगामी दिनमा यस्ता तरकारी नल्याउने कागज गराएर छोडिएको छ ।