वैकल्पिक राजनीति गर्दा जनताको मनछुने सवाल उठाउनुस् ः लेखक पौडेल

पोखरा ।

वैकल्पिक राजनीतिलाई स्थापित गर्न जनताको मनलाई ठ्याक्कै छुने खालका सवाललाई उठाउन सक्नुपर्ने लेखक तथा विश्लेषक गनेस पौडेलले बताएका छन् ।

साझा पार्टीले शनिबार आयोजना गरेको ‘वैकल्पिक राजनीतिः अवसर र चुनौती’ शीर्षकको अन्तरक्रियामा प्रमुख वक्ताको रुपमा आएका पौडेलले ठुला सपना बाँडेर वैकल्पिक राजनीति नहुने तर्क पेश गरे ।

‘यूरोपमा ग्रिन पोलिटिक्सको रुपमा वैकल्पिक राजनीतिको शुरुवात भयो । भारतमा हे¥यो भने केजरीवालले बत्तिको बिल बढि भएको कुरालाई राजनीतिक अस्त्र बनाए । जुन कुराले सबै जनतालाई छोयो । र, उनीहरु शक्तिमा पनि आईहाले ।’ गनेस पौडेलले भने–‘त्यसैले साझा पार्टीलाई पनि म जनताको मनको कुरा बुझेर सवाल उठाउन सुझाव दिन्छु ।’

उनले वैकल्पिक राजनीतिको स्वरुप र सवाल हरेक देशमा फरक हुने बताए । ‘समतामुलक, सम्बृद्ध र व्यवस्थित तरिकाले जनताको मनमा लागेको कुरालाई उठाउनु नै वैकल्पिक राजनीतिक दलको विशेषता हो ।’ उनले भने–‘र, जनतालाई ठुला सपना बाँड्नुको साटो साना–साना दैनिक जीवनमा आईपर्ने समस्याको उत्थान गरिदिँदा बढि आफ्नोपन महशुस हुन्छ ।’

उनले ‘वैकल्पिक राजनीति’ र ‘राजनीतिक विकल्प’ दुई फरक कुराहरु भएको दाबी गरे । ‘अहिले भैरहेका राजनीतिक दलहरुले चुनावको बेलामा राजनीतिक विकल्प पेश गर्छन् । तर जनताको हितका लागि वैकल्पिक राजनीति आवश्यक छ । र, यो काम साझा पार्टीले गरोस् ।’ उनले भने ।

अन्तरक्रियामा साझा पार्टी गण्डकीका सँयोजक महेश भण्डारी, साझा पार्टीका केन्द्रीय सदस्य सुशीला केसीसँगै पार्टीका अभियानकर्ताहरुको सहभागिता रहेको थियो । अन्तरक्रियामा सहभागी साझा पार्टीका नेता तथा अभियन्ताहरुले जनताको मनमा ठ्याक्कै छुने खालका सवाल उठाउन आफूहरु कहिल्यै पछाडि नहट्ने बताएका थिए । पोखरा सृजनाचोकस्थित साझा पार्टीकै कार्यालयमा भएको कार्यक्रमलाई अभियान विभाग प्रमुख दीपक पौडेलले संचालन गरेका थिए ।