पोखराका बसमा इ टिकेटिङ लागू हुँदै, परीक्षण जारी

पोखरा ।

यसअघि काठमाण्डौमा साझा बसले प्रयोग गरेको इ टिकेटिङ पोखरामा पनि लागू गरिने भएको छ । यसअघि साउन महिनाबाटै टिकेटिङ लागू गर्ने भनिएपनि भदौ १ गतेबाट यो प्रणाली शुरु लागू गर्न लागिएको हो ।

उक्त प्रणाली लागू गर्नु पूर्व इ टिकेटिङको परिक्षण गरिएको छ । पोखरा महानगरपालिकाको छोटो दुरीमा चल्ने यात्रुबसमा भदौ १ गतेदेखि इ टिकेटिङ प्रणाली लागू गर्ने तयारी छ । पोखरा महानगरपालिकाको वडा नं. १ को सिमपानीदेखि पोखराकै वडा नं.१७ आँखा अस्पतालसम्मको रुटमा चल्ने बसमा इ टिकेटिङ प्रणाली परीक्षण गरिएको हो ।

शुरुमा यात्रुहरुलाई निशुल्क कार्ड उपलब्ध गराउने बताइएको छ । एक प्रति फोटो र एक प्रति परिचय पत्र खुल्ने कागज पेश गरेपछि यात्रु कार्ड उपलब्ध गराउने बताइएको छ । मेट्रो कार्ड पोखरा महानगरपालिकाका सबै वडा कार्यालय, बस कम्पनीहरुका कार्यालयबाट वितरणको व्यवस्था मिलाइएको छ ।

मेट्रो कार्ड लिने यात्रुले सवारी साधनमा रहेको स्मार्ट पोष्ट डिभाइसमा चढ्ने बेलामा र झर्ने बेलामा रिड गराउनुपर्ने हुन्छ । जस्ले गर्दा उक्त मेसिनले लाग्ने भाडा कार्डमा रहेको व्यालेन्सबाट काट्ने गर्दछ । कार्ड प्रणाली लागू भए यात्रु ठगिने क्रमको अन्त्य हुने विश्वास गरिएको छ ।