पितृसत्ता विरुद्धको लडाईंमा साथै छौं ः मुख्यमन्त्री गुरुङ

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पितृसत्ता विरुद्धको लडाईंमा प्रदेश सरकार साथमै रहको बताएका छन् ।

‘महिला माथी हुने हिँसा र पितृसत्ताको विरुद्धको लडाईंमा हामी साथमै छौं, उनले भने, विभेदको अन्त्य गर्न र समानताका लागि परौं ।’नारी जागरण अभियान पोखराले नजिकिँदै गरेको महिलाहरुको महान पर्व हरितालिका तीजलाई भड्किलो हुन नदिन बुझाएको ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री गुरुङले उक्त कुरा बताएका हुन् । प्रदेश सरकारले समानता र विभेद अन्त्य गर्न चाहेको भन्दै त्यसका लागि सहकार्य र सुझाव दिन समेत आह्वान गरे ।

तीजलाई भड्किलो हुन नदिन आफ्नो ठाउँबाट सहयोग गर्ने समेत उनले बताए । ‘प्रदेश सरकारका मन्त्री र साँसदहरुलाई भोज भतेर र भड्किलो कार्यक्रममा नजान आफुले आह्वान गर्ने भन्दै उनले भने, ‘विभेदको अन्त्य र समानताका लागि प्रवचन, विचार गोष्ठीमा जान सकिन्छ, तर भोज भतेरमा नजान म आह्वान गर्छु ।’

गलत कुराको पछि नलाग्न आग्रह गर्दै उनले निरपेक्ष ढँगले विषयलाई बुझ्न नहुने बताए । ‘कतिपय ठाउँमा पुरुषले नशालु पदार्थ प्रयोग गर्दा समानताका लागि महिलाले पनि गर्नुपर्छ भन्ने सुनेको छु, उनले भने, लोग्नेले बहुविवाह गर्यो भने महिलाले पनि बहुविवाह गर्नुपर्छ भन्न हुँदैन, कानुनले बन्देज लगाएको काम गर्नु समानता होइन ।’