पुष्पलालका विचार उत्तिकै सान्दर्भिक–मुख्यमन्त्री गुरुङ

पोखरा ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी कमिटी सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले पुष्पलालका विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनु भएको छ । पोखरा महानगरपालिका वडा नं. २१ फेदीपाटनस्थित पुष्पलाल अध्ययन प्रतिष्ठान परिसरमा निर्मित पुष्पलालको अर्धकदको शालिक आज अनावरण गर्दै उहाँले पुष्पलालले अघि सारेका विचारकै जगमा नेपाली कम्युनिष्ट आन्दोलन वर्तमानसम्म आइपुगेको बताउनुभयो ।

नेपाली कम्यूनिष्ट आन्दोलनलाई बैचारिक नेतृत्व दिएर पुष्पलालले अतुलनीय योगदान गर्नुभएको स्मरण गर्दै मुख्यमन्त्री गुरुङले तीनै विचार र सिद्धान्तलाई आत्मसात गर्न सके उहाँ प्रति सच्चा श्रद्धान्जली हुने धारणा राख्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई कमजोर बनाउन विभिन्नरुपमा षडयन्त्र भई रहेको चर्चा गर्दै उहाँले अवसरवादी सोच र प्रवृत्तिलाई निरुत्साहित गर्दै अघि बढनुपर्ने आवश्यकता औल्याउनुभयो ।

उक्त अवसरमा मुख्यमन्त्री गुरुङले प्रतिष्ठानको हातामा निर्माण गरिएको कम्यूनिष्ट नेता बलराम उपाध्यायको अर्धकदको शालिकको समेत अनावरण गर्नुभएको थियो । युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्माले नेपाली समाजको रुपान्तरणमा पुष्पलालको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रतिष्ठानलाई कम्युनिष्ट पार्टीको अध्ययन अनुसन्धानको थलोको रुपमामा विकास गरिनु पर्नेमा जोड दिनुभयो । नेकपा केन्द्रीय सदस्य समेत रहनु भएको उहाँले मुलुकमा राजनीतिक उपलव्धिसंगै समृद्धिको आन्दोलनमा लाग्नु पर्ने आजको आवश्यकता भएकोमा जोड दिनुभयो ।

पुष्पलाल अध्ययन प्रतिष्ठानका अध्यक्ष एवम् पार्टी केन्द्रीय सदस्य खगराज अधिकारीले विभिन्न संघसंस्था र व्यक्तिको आर्थिक सहयोगमा निर्माण गरिएको प्रतिष्ठानको तीन तल्ले पक्कि भवन निर्माण भई रहेको बताउँदै नेपालको कम्युनिष्ट आन्दोलन र पुष्पलाललाई नजिकबाट चिन्न र वुझन सकिने गरि विकास गरिने जानकारी दिनुभयो । नेकपा कास्की अध्यक्ष तथा प्रदेश सभा सदस्य कृष्णबहादुर थापाले मुलुकमा प्राप्त उपलव्धिको रक्षा गर्दै जनताको वृहत हितमा उपयोग गरिनु आजको आवश्यकता भएको धारणा राख्नुभयो ।

नेकपा केन्द्रीय सदस्य एवम् पुष्पलाल अध्ययन प्रतिष्ठान भवन निर्माण समितिका अध्यक्ष भिम कार्कीले प्रतिष्ठानले नेपालको कम्युनिष्ट आन्दोलन संगठित र सशक्त बनाउन कोसे ढुंङगा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।