सामान ढुवानीमा अनलाइन ट्रयाकिङ खारेज नगरे कडा आन्दोलनमा उत्रने पोउवा संघको उद्घोष

पोखरा ।

पोखरा उद्योग वाणिज्य संघले सरकारले साउन १ गतेदेखि लागु गरेको एक ठाउँबाट अर्को ठाउँमा मालसामान ओसार पसार गर्दा वेभमा आधारित अनलाइन ढुवानी साधन अनुगमन प्रणाली ( भिसिटिएस ) तत्काल खारेज गर्न माग गरेको छ ।

संघले भिसिटिएस खारेज नगरे कडा आन्दोलन गर्ने चेतावनी पनि दिएको छ । यसअघि सो प्रणालीबारे आवश्यक पूर्वसूचना नपुगेको भन्दै आपत्ति जनाएको संघले शुक्रबार विज्ञप्ति जारी गरी भिसिटिएस व्यवसायीहरुको मानमर्दन गर्न ल्याइएको आरोप समेत लगाएको छ ।
भिसिटिएस प्रणालीबारे पोखरामा व्यवसायीहरुले असन्तुष्टी जनाएपछि संघले खारेजीको माग गरेको संघका कार्यबाहक अध्यक्ष नारायण कोइरालाले जनाए । पोखराका उद्योगी÷व्यवसायीहरुसँगको व्यापक छलफलपछि यो निर्णय गरिएको उनको भनाई छ । उनले निजी क्षेत्रले दिएको सुझावलाई सरकारले वेवास्ता गरेको आरोप पनि लगाए ।

संघका महासचिव अर्जुन पोखरेलद्धारा जारी विज्ञप्तिमा ‘इन्टरनेटमा आधारित वेभको सहज प्रयोग र पहुँच तथा व्यवसायी एवं सरकार स्वयंको क्षमतालाई नजरअन्दाज गर्दै हचुवाको भरमा लगाइएको ‘भिसिटीएस’ अव्यवहारिक मात्रै नभएर नेपालको निजी क्षेत्रप्रति सरकारको अविश्वासको परिणाम हो’ भन्ने जिकिर गरिएको छ ।

विज्ञप्तिमा सरकारको अव्यवहारिक निर्णयले अहिले बजारमा दैनिक उपभोग्य बस्तुको समेत ढुवानी ठप्प भएको जनाउँदै उपभोक्ताको अधिकारबारे सचेत हुँदाहुँदै पनि बाध्य भएर यो निर्णय गरिएको उल्लेख छ ।

‘व्यावसायिक वातावरण निर्माणमा लाग्नु पर्ने सरकारले व्यवसायीहरुलाई बाध्यकारी तथा अव्यवहारिक प्रणालीमा धकेल्नु भनेको निजी क्षेत्रको उपेक्षा र मानमर्दन हो’, विज्ञप्तिमा भनिएको छ,‘हामी उद्योगी÷व्यवसायीहरु उपभोक्ताको अधिकारप्रति सचेत छौँ तर मृत्युशैयामा पु¥याउने सरकारी निर्णयले हामीलाई आन्दोलनमा जान बाध्य बनाएको छ ।’ विज्ञप्तिमा राज्यप्रदत्त अधिकार प्रयोग गर्दै व्यवसाय गरेका उद्योगी÷व्यवसायीहरुलाई हतोत्साही गर्ने र व्यावसायिक वातावरण निर्माणमा असर गर्ने निर्णयहरु नगर्न सरकारलाई सचेत पनि गराइएको छ । संघले यसअघि साउनको अन्तिम दिन नै विज्ञप्ति जारीगर्दै यो प्रणाली लागु नगर्न माग गरेको थियो ।