रुपामा सगोल कास्कीको सामाजिक लेखाजोखा सम्पन्न

पोखरा ।

पोखरा १५ मा रहेको सगोल कास्कीले आर्थिक वर्ष २०७५र७६ मा सञ्चालित समुदायमा आधारित पुनस्र्थापना (सिबिआर) परियोजनाको सामाजिक लेखाजोखा कार्यक्रम आईतबार कास्कीको रुपामा सम्पन्न गरेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले अपाङ्गता भएका व्यक्तिहरुलाई स्वाबलम्बी बनाउने गाउँपालिकाको योजनामा सगोलले गरेको सहकार्य निकै फलदायी रहेको बताए । “गाउँपालिकाले अपाङ्गतालाई स्वाबलम्बी बनाएर लैजाने नीति लिएको छ” ओझाले भने “सचेतना सहित आय आर्जनमा सरकारी निकाय र गैर सरकारी संस्थाको संयुक्त पहलमा काम गर्दा लक्ष्य हासील गर्न सहज भएको छ ।” अपाङ्गता हुने कारणबारे चर्चा गर्दै ओझाले भ्रुण अवस्थादेखि मृत्यु नहुञ्जेल सम्म हुने अपाङ्गतालाई सहयोग गर्न गाउँपालिका तयार रहेको बताए ।

सो अवसरमा बोल्दै पोखरा महानगरपालिका वडा नं १५ का अध्यक्ष प्रकाश पौडेलले अपाङ्गताहरुका लागि व्यवसाय गर्ने वातावरण बनाउनु महत्वपूर्ण कुरा रहेको बताए । रुपा गाउँपालिका उपाध्यक्ष लालसुवा गुरुङले समुदायमा रहेका लक्षित वर्गसम्म कार्यक्रम पुर्याउन सगोलको महत्वपूर्ण भूमिका रहेको बताईन् । त्यस्तै रुपा गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष दयासागर सुवेदीले संस्थाले रचनात्मक कार्यक्रम गरेर अपाङ्गताको हितमा प्रशंसनीय कार्य गर्दै आएको बताए ।

संस्थाको कार्यक्रमको सामाजिक लेखा परिक्षक सुर्य बहादुर कुँवरले लेखा स्थलगत अध्ययन समेत गरी प्राप्त विवरण प्रस्तुत गरेका थिए । संस्थाले अपेक्षित लक्ष्य अनुरुपकै काम गरेको उनले बताए । अपाङ्गता र विपद व्यवस्थापनमा रहेर समुदाय लक्षित कार्य गर्दै आएको उक्त संस्थाले रुपा गाउँपालिकाका वडा नं ४, ५, ६ र ७ गरी ४ वटा वडामा रहेर कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । ती वडाहरुमा रहेका १९२ जना समूहमा आवद्ध भएका छन् । उनीहरुलाई आय आर्जन र तालीमका लागि संस्थाले आर्थिक सहयोग समेत प्रदान गर्दै आएको सो अवसरमा बताईयो ।

सगोल कास्कीका निवर्तमान अध्यक्ष एवं सल्लाहकार डा. बुद्धि बहादुर थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संस्थाका कार्यक्रम प्रवन्धक राजकुमार रायमाझीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने संस्थाका सिविआर कार्यक्रम अधिकृत विमला केसीले कार्यक्रम सञ्चालन गरेकी थिईन् । सो अवसरमा स्थानीय लाभग्राही, कार्यक्रम सञ्चालन गरिएका वडाका वडा अध्यक्षहरु, रुपा गाउँपालिकाका प्रशाकीय अधिकृत, संस्थाका विभिन्न पदाधिकारी, पत्रकार लगायतको सहभागिता थियो ।