गण्डकी प्रदेशस्तरीय छनौट असार २८ गते हुने

पोखरा ।

साउन १२ गते पोखरामा राष्ट्रिय खुल्ला एकल लोकनृत्य प्रतियोगिता हुने भएको छ। लोकस्रष्टा,एबम साधक शिल्पी कल्याण शेरचनको ७३ औं जन्म जयन्तीको अवसरमा कल्याण शेरचन स्मृति प्रतिष्ठान रानीपौवा पोखरा र साँस्कृतिक संस्थान(राष्ट्रिय नाँचघर) जमल काठमाडौंको संयुक्त आयोजनामा प्रतियोगिता गरिने बिहीवार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो। पोखरा उद्योग बाणिज्य संघमा हुने प्रतियोगितामाको विजेता एक जना महिला र एक जना पुरुषले जनही १ लाख १ हजार १११ रुपैया सहित वर्ष उत्कृष्ट कलाकार उपाधिसहित साँस्कृतिक संस्थानमा एक वर्षका लागि रोजगार प्रदान गरिने छ ।

त्यस्तै दोश्रो हुने महिला र पुरुषले जनही ५० हजार ५१५ रुपैया, तेश्रो हुने महिला र पुरुषले जनही २५ हजार ५१५ र सात्वना महिला र पुरुष जनही १५ हजार ५१५ र उत्कृष्ठ कोरियोग्राफर महिला र पुरुष जनही २५ हजार ५१५ रुपैयासहित पुरस्कृत हुने कल्याण शेरचन स्मृति प्रतिष्ठानका सहसचिव प्रेमराज अधिकारीले जानकारी दिनुभयो। पुरस्कार मात्रै ४ लाख ३६ हजार ३४२ रुपैया वितरण गरिने प्रतियोगिता सम्पन्न गर्न २३ लाख ३६ हजार खर्च लाग्ने अनुमान गरिएको कोषाध्यक्ष प्रदिप गौचनले जानकारी दिनुभयो। प्रतियोगिताको अन्तिम स्पर्धाको लागि सातवटै प्रदेशबाट १६ जना कलाकारहरु नचौट गरिने पत्रकार सम्मेलनमा जानकारी दिनुभयो।

गण्डकी प्रदेशबाट २ महिला र २ पुरुष छानिने भएकाछन भने अन्य प्रदेशहरुबाट १ महिला, १ पुरुष छनौट गरिने आयोजकले जनाएको छ। १६ देखि २५ वर्ष उमेर समुहले भाग लिन पाउने प्रतियोगिताको अन्तिम चरणमा प्रवेशका लागि गण्डकी प्रदेशको छनौट असार २८ गते शनिवार, बिहान ११ बजेदेखि, पोखरा ३ नदिपुस्थित थकाली सेवा समितिमा हुने भएको छ।

यस्तै गरी प्रदेश नं.१ मा असार २८ गते नै धरानमा नगेन्द्र राईको संयोजकत्वमा अडिशन, प्रदेश नं. २ को साउन ५ गते राजविराजमा सन्दिप मण्डलको संयोजकत्वमा छनौट र साउन ४ गते प्रदेश नं.३ को काठमाडौं साँस्कृतिक संस्थानमा सारदा सिलवालको संयोजकत्वमा प्रदेशस्तरीय छनौट हुनेभएको छ। यसरी नै प्रदेश नं. ५ को बुटवलमा साउन २ गते अनु रज्जकको संयोजकत्वमा रहेको छनौट समिति, साउन ६ गते कर्णाली प्रदेशको सुर्खेतमा कुलमान नेपालीले र असार २८ गते सुदुर पश्चिमको धनगढीमा लिलाधर बास्कोटाको संयोजकत्वमा रहेको समितिले कलाका छनौट गरी राष्ट्रिय प्रतियोगिताका लागि कलाकारहरु पोखरा पठाउने जिम्मेवारी रहेको पत्रकार सम्मेलनमा कार्यक्रमका संयोजक श्रीजंग गुरुङले बताउनुभयो।