पोखरामा ३ पत्रकार सम्मानित

असार १२, पोखरा ।

पत्रकार महासंघ कास्कीद्वारा स्थापित ३ विधाका पत्रकारिता सम्मान पुरस्कार वितरण गरिएको छ । गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले ३ विधाका ३ जना पत्रकारलाई पुरस्कार अर्पण गरे ।

पोखरा पत्रकारिता सम्मान समाधानकर्मी पत्रकार श्यामनाथ कुँवरलाई अर्पण गरिएको छ । कुँवरलाई सम्मानपत्र, दोसल्ला र नगद ३५ हजार १ रुपैयाँ प्रदेश प्रमुख कुँवर मार्फत हस्तारण गरियो । साढे २ दशक पोखरामा रहेर पत्रकारिता गरेका कुँवरले महासंघ कास्की शाखामा विभिन्न जिम्मेवारी सम्हाली सकेका छन् ।

गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार त्रिभुवन पौडेल सम्मानित भएका छन् । उनलाई सम्मानपत्र, दोसल्ला र नगद २५ हजार १ रुपैयाँ हस्तान्तरण गरियो । पौडेल नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष एवं पोखरा हटलाइन दैनिकका सम्पादक हुन् । त्यस्तै, जगन्नाथ सिग्देल युवा प्रोत्साहन पत्रकारिता पुरस्कार गीता रानामगर सम्मानित भएका छन् । उनलाई सम्मानपत्र, दोसल्ला र नगद ११ हजार १ सय ११ रुपैयाँ प्रदेश प्रमुख कुँवरबाट हस्तान्तरण गरियो । उनी एबिसि टेलिभिजनमा पोखराका लागि रिपोर्टर हुन् ।

सम्मानित पत्रकारहरुको परिचय पुरस्कार छनोट समितिका संयोजक बरिष्ठ पत्रकार कुसुमकेशव पराजुलीले वाचन गरेर सुनाएका थिए ।

पुरस्कार हस्तान्तरण पछि बोल्दै प्रदेश प्रमुख कुँवरल पत्रकारिता पेसा अत्यन्तै संवेदनशील पेसा भएकोले गरिमा जोगाइ राख्न सबैमा आग्रह गरे । पेसा कुनैपनि सहज नभएकाले अनवरत लगावनै लक्ष्य प्राप्तिको साध्य भएको उनले बताए ।

‘इज्जत आफैंले आर्जित गर्न सक्नुपर्छ,’ उनले भने, ‘भगवान रामको इज्जत माथि पनि प्रश्न उठेको थियो, यो संसारिक जीवनमा लोकले केही न केही त भनि नै रहन्छ ।’

लेखेबापत पत्रकार दण्डित हुनुपर्ने स्थिती आउन नहुने उनले बताए । प्रतिनिधि सभामा प्रस्तावित मिडिया विधेयकबारे प्रसंग उल्लेख गर्दै विधेयकले व्यावसायिक मर्यादा पालना गर्नुपर्ने धारणा राखे ।

उनले भने, –‘राजकाज चलिरहन्छ । कतिपय कुराहरु बाहिर आउँछन्, कतिपय आउँदैनन, तर जिम्मेवार पत्रकारले यथोचित जानकारी जनतामाझ दिइरहनुपर्दछ । संविधानले पनि स्वतन्त्रताको ग्यारेन्टी गरेको छ,’

निबन्धात्मक गद्य वा पद्य शैलीका समाचारले देशलाई फाइदा नहुने उनले सुनाए । देशलाई डोहो¥याउने क्षमता पत्रकारमा भएको हुँदा निष्ठापूर्वक जिम्मेवारी पालना गर्न उनले आग्रह गरे ।

सम्मान ग्रहण पछि बोल्दै पत्रकार श्यामनाथ कुँवरले पत्रकारिता क्षेत्रमा अझ धेरै दायित्व निभाउन बाँकी रहेको बताए । छनोट समिति र पत्रकार महासंघलाई धन्यवाद दिँदै आगामी दिनमा पत्रकारिता क्षेत्रको उन्नयनको लागि खटेर लाग्ने सुनाए ।

गजेन्द्र भण्डारी सिर्जनशील पत्रकारिताबाट सम्मानित पत्रकार त्रिभुवन पौडेलले पुरस्कार र सम्मानले जिम्मेवारी बढाएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं कास्की शाखाका पूर्वअध्यक्ष रामकृष्ण ज्ञवालीले प्रस्तावित मिडिया विधेयकमा नागरिकका अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने गरी आउनु गम्भीर विषय भएको बताए । उक्त विधेयक जस्ताको तस्तै पारित पत्रकारहरु भए कलम, कापी र आवाज सबै थन्काएर बस्नुपर्ने बाध्यता आइपर्ने तर्फ सचेत गराए । कार्यक्रम पत्रकार महासंघ कास्की शाखा अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको थियो ।