एसईईको नतिजा आज प्रकाशन हुदै, यसरी हेर्न सकिन्छ नतिजा

असार १२ , पोखरा ।

एसईई परीक्षाको नतिजा बिहीबार (आज ) प्रकाशित हुने भएको छ। नतिजा प्रकाशनको निर्णय गर्न दिउँसो बोर्ड बैठक बोलाइएको छ । बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक हुन्छ । प्रदेश २ मा प्रश्नपत्र बाहिरिएपछि पुनः परीक्षा लिनु परेको र कर्मचारी समायोजन हुँदा पनि जनशक्ति अभाव भएकाले नतिजा ढिला आउन लागेको हो ।

२०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट सुरु भएको थियो । संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।एसईईको नतिजा १६०० मा एसएमएस गरेर थाहा पाउन सकिनेछ ।

यसका लागि अंग्रेजीमा एसईई टाइप गरेर स्पेस दिदैं आफ्नो सिम्बोल नम्बर टाइप गरेर १६०० मा पठाउनुपर्नेछ।यसका अलावा १६०० मा डायल गरेर प्राप्त निर्देशन अनुसारको जानकारी भरेर पनि नतिजा थाहा पाउन सकिनेछ ।साथै see.ntc.net.np मा गएर पनि नतिजा हेर्न सकिनेछ ।