नेपाल औषधि व्यवसायी संघको रक्तदान कार्यक्रम पोखरामा सम्पन्न

पोखरा,१०असार।
नेपाल औषधि व्यवसायी संघको स्थापना दिवसको दिन मंगलबार रक्तदान कार्यक्रम सपन्न भएको छ । नेपाल औषधि व्यवसायी संघ गण्डकी अञ्चल शाखाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र पोखराको प्राबिधिक सहयोगमा सम्पन्न कार्यक्रममा ७६ जना रक्तदाताहरुले रक्तदान गरेका छन् ।

गण्डकी अञ्चल शाखाका अध्यक्ष रामबहादुर के. सि. को अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल औषधि व्यवसायी संघका केन्द्रीय सचिव यमनाथ पौडेलले ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रम शुरुवात गरेका थिए ।

उक्त कार्यक्रममा गण्डकी प्रदेशकै औषधि ब्यवसायिहरुमध्ये सबैभन्दा बढी ५७औँ पटक रक्तदान गर्ने साथै रगत ब्यवस्थापनको क्षेत्रमा समेत क्रियाशिल तिर्थराज अवस्थीलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले संघको स्थापना दिवसमा रक्तदान जस्तो पवित्र कार्यमा संलग्न सबैको प्रशंसा गर्दै पोखरा र आसपासका क्षेत्रमा देखिएको रगत अभावलाई कम गर्न सानो भ‌एपनि भुमिका खेल्ने भएकाले गण्डकी अञ्चल शाखाको कार्यले आफुलाई गर्व महशुष भएको बताएका छन् ।


कार्यक्रममा बिशेष अतिथि टंकप्रसाद अधिकारी सहित नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष जितेन्द्रमान शाक्य, दाह्री ग्याङ संयोजक बसन्त पहारी, रक्तसंचार केन्द्र(पोखराका प्रमुख ध्रुबमणि लामिछाने लगायतले शुभकामना मन्तव्य राखेका थिए । सम्मानित तिर्थराज अवस्थीले आफ्नै संस्थाबाट सम्मानित हुन पाउँदा खुशी लागेको र भबिष्यमा पनि रगतको क्षेत्रमा अझै बढी खटेर काम गर्ने हौसला मिलेको बताउँदै संस्था सम्बद्ध सम्पुर्णमा हार्दिक धन्यवाद तथा आभार प्रकट गरे ।

नेपाल औषधि व्यवसायी संघ गण्डकीका कार्यसमिति सदस्य सन्जिव देवकोटाको संयोजकत्वमा आयोजित कार्यक्रमको सञ्चालन महासचिव कृष्ण पाण्डेले गरेका थिए ।