हेमजामा हिले महोत्सवको तयारी तीब्र

पोखरा, ९ असार

पोखरा महानगरपालिका वडा न. २५ हेमजा स्थित देवीस्थान सेवा समाजको आयोजनामा यहि असार १५ गते हुने प्रथम हेमजा हिले महोत्सव २०७६ को तयारी तीब्र पारिएको छ ।कृषिमा कृषकलाई प्रोत्साहन, बिष्णुपादुका मन्दिर हेमजाको शान भन्ने मुल नाराका साथ महोत्सव आयोजना गरिएको छ ।

महोत्सवको आकर्षणमा पुरुष,महिला रस्साकस्सी, ४० बर्ष माथि पुरुष हिले दौड, खुल्ला पुरुष हिले दौड, ३० बर्ष माथि महिला हिले दौड ,खुल्ला महिला हिले दौड, घैटो फुटाउने ,धान रोप्ने, म्युजिकल बेलुन, हिले नाँच, गोरु दौड प्रतियोगिता रहेको महोत्सव मुल आयोजक समितिका संयोजक खिमलाल तिम्सिना(अर्जुन)ले जानकारी दिए । प्रतियोगितामा प्रथम र द्वितीय हुने व्यक्ति वा समूहलाई नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाइएको छ । त्यस्तै लोकदोहोरी तथा हास्य कलाकारका प्रस्तुतिहरु पनि रहने आयोजकले जनाएको छ ।

कृषक हुनुमा गर्व र हर्ष दिलाउँदै युवा पुस्तालाई कृषितर्फ आकर्षण बढाउने, मेहनती किसानलाई प्रोत्साहन गर्ने तथा स्थानीय विष्णुपादुका मन्दिरमा पर्यटकको आगमन बढाउने उद्देश्यका साथ महोत्सव गर्न लागिएको हो ।

महोत्सव सम्पन्न गर्नका लागि रु.पाँच लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको अर्थ संकलन उपसमितिका संयोजक हरिप्रसाद तिम्सिनाले बताए ।