आफैले पढेको विद्यालयमा १० लाखको छात्रवृत्ति अक्षयकोष घोषणा

करापुटार ।

लमजुङमा आफैले पढेको स्कुलमा एक व्यक्तिले १० लाखको छात्रवृत्ति अक्षयकोषको घोषणा गरेका छन् । जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं. ७ चिसंकुमा रहेको जनमन्दिर माविमा अमेरीकाको टेक्सासमा बस्दै आउनुभएका प्रमोद बिलास घिमिरेको अगुवाईमा उक्त छात्रवृत्तिकोषको घोषणा गरिएको हो ।

घोषणा गरिएको अक्षयकोषमा रमाकान्त अधिकारीले २ लाख, बिमला पराजुली र सञ्जिब पराजुलीले २ लाख, महेश बाबु घिमिरेबाट १ लाख, तिर्था देवी घिमिरेले १ लाख र शंकर अधिकारीले १ लाख सहयोग गरिसक्नुभएको छ । अक्षयकोषमा सहयोग गर्ने प्रमोद घिमिरेको आफन्त र स्टमित्रहरु रहेको विद्यालयले जनाएको छ ।

उहाँहरुले आफ्ना परिवारका मृत सदस्यको नाममा एकमुष्ट अक्षयकोषको स्थापना गर्नुभएको छ । विद्यालयका प्रधानध्यापक चन्द्रराज घिमिरेले भन्नुभयो – विद्यालयका लागि यो भन्दा ठुलो सहयोग अरु हुनै सक्दैन । यसरी नै सहयोग भईरहेको छ र हामीले विद्यालय संचालन गरिरहेका छौँ । यो अक्षयकोषलाई अर्को वर्ष सम्म १० लाख पुर्याउने घिमिरेले बताउनुभयो ।

लामो समय देखि अमेरीका बस्दै आउनुभएका घिमिरेले गाउँमा धेरै युवालाई छात्रवृत्तिको लागि सहयोग गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो – नेप्लीज युज अपरच्युनिटिज फाउण्डेसनको सम्पर्क दुत भएर मैले यहाँका गरिब जेहेन्दार भाई बहिनिहरुलाई मैले छात्रवृत्तिका लागि सहयोग गरेको छु । घिमिरेले थप्नुभयो – आफु जन्मेको ठाउँमा केही गरौँ भन्ने लागिरहन्छ र सकेको सहयोग गर्दै आईरहेका छौँ । मेरो अभियानमा मेरा साथी, स्टमित्र र छिमेकीले पनि सहयोग गर्नुभएको छ त्यसैले निकै खुसी लागेको छ ।

घिमिरेले केहि महिना अघि करापुटारको कुसुमाकर उच्चमाविमा विद्यार्थीहरुका लागि स्वच्छ खानेपानीका लागि युरोगार्ड सहयोग गर्नुभएको थियो । घोषणा गरिएको छात्रवृत्तिलाई राम्रोसंग आवश्यक पर्ने विद्यार्थीलाई मात्र वितरण गर्न विद्यालयलाई उहाँले अनुरोध गर्नुभयो । उहाँले छात्रवृत्तिको दुरुपयोग नहोस भन्नेमा विद्यालय सचेत रहन्छ भन्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

छात्रवृत्ति घोषणा कार्यक्रममा मध्यनेपाल नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख श्रीप्रसाद भट्टराईले विदेशमा रहेर पनि आफु जन्मेको ठाउँमा शैक्षिक विकासको लागि भुमिका खेलेको भन्दै अक्षयकोष घोषणा गर्ने परिवारलाई बधाई दिनुभयो । भट्टराईले शैक्षिक विकासको लागि सहयोग दाताहरुलाई सहयोगसंगै निरन्तर विद्यालयको गतिविधिको निगरानी गर्न र आवश्यक सल्लाह सुझाव दिन पनि अनुरोध गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकरराज घिमिरेले विद्यालयमा ८० प्रतिशत भन्दा बढी दलित विद्यार्थी पढ्ने गरेको बताउनुभयो । उहाँले आफुहरुले धेरै गर्ने उद्देश्य लिएपनि गर्न नसकेको बताउनुभयो । विभिन्न दाताहरुकै कारण विद्यालयले समयअनुसार परिवर्तन गर्दै आएको बताउदै उहाँले अहिले पनि आफुहरुले विद्यालयको कम्पाण्डीङ गर्न नसकेको बताउनुभयो । बिद्यालयलाई तारबारले छेक्न नसक्दा विद्यार्थी पढिरहेको कक्षामा कुकुर पस्छ, कहिले विद्यार्थी खेलीरहेका बेला स्कुलमा भैसी आईदिन्छ । अध्यक्ष घिमिरेले भन्नुभयो – विद्यालयलाई कम्पाण्ड गर्न नसकेर केहि असुरक्षीत भएको हो कि भन्ने महशुस भएको छ । प्रयाप्त श्रोत नभएकाले विद्यालयले पटकपटक अभिभावकहरुसंग चन्दा मागरे विद्यालय संचालन गरिरहेको उहाँको भनाई रहेको छ ।

कार्यक्रममा विद्यालयका प्रधानध्यापक चन्द्रराज घिमिरेले विद्यालयको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले विद्यालयमा २०७१ साल देखि माध्यमिक तह संचालन भएपनि दरबन्दी नभएकोले केहि समस्या भएको बताउनुभयो । घिमिरेले विद्यालयका लागि सोच्ने अभिभावकहरुकै कारण विद्यालयले आफ्नै श्रोतबाट पनि विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउदै आएको बताउनुभयो ।

२०१६ सालमा स्थापना भएको उक्त विद्यालयमा २ सय १० विद्यार्थी रहेका छन् । विद्यालयमा अधिकांश दलित विद्यालर्थीहरु त्यसमा पनि बसाईसरेर गएका घर धुवाएर बसेका परिवारका विद्यार्थी आफ्नो विद्यालयमा पढ्न आउने गरेको प्रधानध्यापक घिमिरेले बताउनुभयो ।