‘थमन – महेश स्मृति पत्रकारिता पुरस्कार’बाट पत्रकार पौडेल सम्मानित

जेष्ठ १३, पोखरा ।

१६ औँ कृष्ण सेन इच्छुक स्मृति दिवसका अवसरमा प्रेस संगठन नेपाल कास्कीले सञ्चालन गरेको ‘थमन – महेश स्मृति पत्रकारिता पुरस्कार’बाट नेपाल पत्रकार महासंग गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेल सम्मानित भएका छन् । सोमबार पोखरामा आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा सांसद एवम् नेकपा गण्डकी प्रदेशका सह–इन्चार्ज खगराज अधिकारीले नगद २५ हजार सहित सम्मानपत्रले अध्यक्ष पौडेललाई सम्मान गरेका हुन् ।

सम्मानित भइसकेपछि कार्यक्रममा बोल्दै पौडेलले पुरस्कार भन्दा पनि आफुले यसलाई सम्मानका रुपमा लिएको बताए । अबका दिनहरुमा समेत यो पुरस्कारलाई सम्मानका रुपमा विकास गर्न उनले आग्रह गरेका छन् । सम्मान प्राप्त गरिसकेपछि आफुलाई पत्रकारितामा अझै अगाडि बढ्ने भावना आएको उनको भनाई थियो । कार्यक्रममा सम्मानित भएका पौडेलले समान्न बापत प्राप्त गरेको नगद २५ हजार रुपैयाँ भने सोही पुरस्कार राशिका लागि स्थापना गरिएको अक्षयकोषलाई प्रदान गरेका छन् ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा सह–इन्चार्ज खगराज अधिकारीले पत्रकारहरुले प्रमाण बिना समाचार लेख्न थालेपछि समस्या पर्न गएको बताए । “तपाईहरुले मलाई पासपोर्ट बेच्यो भनेर समाचार लेख्नुभयो, प्रमाणित गरेर देखाउनुस्, सजाय भोग्न म तयार छु ।” उनले आक्रोशित हुँदै भने – “अदालतले समेत निर्दोष साबित गर्दा, पहिले आएको नकारात्मक समाचारले पारेको प्रभावको क्षतिपुर्ति कसले तिर्ने ?”अब ल्याउने भनिएको मिडिया विधयेक पत्रकारहरुको स्वतन्त्रतालाई निमोठ्नका लागि नभएको उनको स्पष्टोक्ति थियो । “पत्रकारहरु पनि निष्ठापुर्वक आफ्नो धर्ममा रहेर कलम चलाउनुहोस् ।” उनले भने – “सत्यथ्य तथा निष्ठापुर्वक काम गरे पत्रकारहरुलाई सबैले सम्मान गर्छ ।”

कार्यक्रममा उनले कुनै पनि पार्टीको प्रवत्ताका रुपमा काम नगर्न पत्रकारहरुलाई आग्रह गरे । सही तथा सत्यतथ्यपरक तरिकामा समाचार लेखे हरेकले पत्रकारहरुलाई आँखा चिम्लिएर विश्वास गर्ने उनको भनाई थियो । “स्वतन्त्र तथा प्रमाण सहित समाचार प्रकाशन तथा प्रसारण गर्नुस्, पत्रकारहरुको घाँटी निमोठिन दिन्न भनेर म आफैँ प्रतिबद्धता व्यक्त गर्छु ।” उनले भने ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, प्रतिभा छनौट समितिका सदस्य कोमलनाथ बराल लगाएतले आ–आफ्नो भनाई व्यक्त गरेका थिए ।